देश

सियारीमा मृतकको जग्गा किर्ते गरी हक हस्तान्तरण, सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । रूपन्देहीको सियारी गाउँपालिका–२ मा मृतक बेलर कहारको नाममा रहेको जग्गा किर्ते कागजातमार्फत हक हस्तान्तरण गरिएको आरोपमा सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अनुसन्धानअनुसार मालपोत कार्यालय, रूपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, नायब सुब्बा राजु शर्मा, खरिदार अजित कुमार साहनी, सियारी गाउँपालिका–२ का तत्कालीन वडा अध्यक्ष रामकिशन थारू, वडा सदस्य वृजनारायण यादव र बुद्धिराम कहारको मिलेमतोमा फर्जी नाता प्रमाण, सर्जमिन मुचुल्का तथा अन्य कागजात तयार गरी जग्गा हक हस्तान्तरण गरिएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार मृतक बेलर कहारकी हकदार छोरी सन्जु कहारको अधिकार समाप्त पार्ने उद्देश्यले २–०–५ बिघाहा जग्गा किर्ते रूपमा बुद्धिराम कहारको नाममा कायम गरिएको हो ।

यसै आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको मागसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *