काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार राति बसेको मन्त्रिपरिषद बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
शाक्यको नियुक्तिसँगै अब विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई पुनः ल्याउने च्याप्टर क्लोज भएको छ । नेपालमा लोडसेडिङ हटाउन कुलमानको योगदान रहेको भन्दै उनलाई पुनः नियुक्ति दिनुपर्ने जनस्तरबाट आवाज उठेको थियो ।
उmर्जा मन्त्रालयले कात्तिक २१ गते शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक बनाएको थियो। उनलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्त गरिएको थियो। शाक्य प्रधानमन्त्री पत्नी राधिका शाक्यका आफन्त पर्छन् ।
कुलमान घिसिङको कार्यकाल सकिएपछि तत्कालीन उmर्जामन्त्री वर्षमान पुनले लेखनाथ कोइरालालाई वरिष्टताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए। घिसिङको पुनर्नियुक्तिमा असहमत देखिएका प्रधानमन्त्री ओलीले कोइरालालाई जिम्मेवारी दिएकोमा आपत्ति जनाएपछि शाक्यलाई प्राधिकरणको जिम्मेवारी दिइएको थियो।




