रिबन

तामाकोसी आयोजना प्रमुख विज्ञान श्रेष्ठको नीति : योजना अवधि बढाउने, लागत बढाएर कमिसन बटुल्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम पाँच वर्ष अगाडि नै पूरा हुनुपर्ने थियो । २०७२ असारमै सम्पन्न हुनुपर्ने ४५६ मेगावाट क्षमताको यो योजना ११ वर्षसम्म निर्माण अवधि लम्ब्याएर आयोजना प्रमुख विज्ञान श्रेष्ठले कुस्त कमाई गर्दै आएका छन् । तामाकोसी आयोजना श्रेष्ठका लागि कमिसन बटुल्ने आकर्षक ठाउँ बन्न पुगेको छ ।

उनले निर्माण समयमै पूरा हुन नसक्नुलाई कहिले भूकम्प त कहिले भारतीय ठेकेदारलाई दोष लगाउने गरेका छन् । पछिल्लो समय आयोजनाको लट–२ को ठेकेदार टेक्सम्याको रेलवे एन्ड इन्जिनियरिङ कम्पनीले एक्सपान्सन ज्वाइन्ट पाइप बनाउन ढिलाइ गरेको श्रेष्ठको दाबी छ । तर, आयोजनाकै कर्मचारीहरू भने नेतृत्वको कमिसनमोहले ढिलाइ हुँदै गएको बताउँछन् । निर्माण अवधि लम्ब्याउँदै र लागत बढाउँदै जाँदा विभिन्न ठाउँबाट कमिसन पनि आइरहने श्रेष्ठको नीति छ ।

राष्ट्रिय गौरवको यो योजनाको सुरुको लागत ३५ अर्ब थियो । तर, अहिले ७६ अर्ब पु¥याइएको छ । जतिसुकै ठूलो विकास आयोजना पनि सामान्यतः पाँच वर्षभित्र सम्पन्न हुनुपर्छ । तर, भारतीय ठेकेदार कम्पनीले समयमा पेनस्टक पाइप एवं एक्स्पान्सन ज्वाइन्ट पाइप उपलब्ध गराउन र जडान गर्न नसकेको बहानामा आयोजना ११ वर्ष बितिसक्दा पनि अधुरै छ । साउन ०६७ मा सुरु गरिएको बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण थालिएको अहिले १० वर्ष सात महिना पुगेको छ । सुरुमा निर्धारित लक्ष्यअनुसार असार २०७२ मा आयोजना पूरा हुनुपर्ने थियो ।

निर्माण अवधि दोब्बरभन्दा धेरैले बढेको आयोजनाको अनुमानित लागत ७६ अर्ब रुपैयाँ पुग्दै छ । थालनी हुँदा ब्याजबाहेक ३५ अर्ब रुपैयाँमा यो आयोजना सम्पन्न गर्ने उल्लेख थियो । त्यसवेला सम्पन्न हुँदासम्म ब्याजसहित ४८ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको थियो । तर, अहिले ब्याज र अमेरिकी डलरको अधिमूल्यनबाहेक नै ५२ अर्ब रुपैयाँ लागत पुगेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ सगर्व बताउँछन् ।

आयोजनाबाट मृगेन्द्रबहादुर श्रेष्ठ हटेपछि झन्डै सात वर्षदेखि विज्ञान श्रेष्ठ नै प्रमुख कार्यकारी अधिकृतकै रूपमा छन् । आयोजनाको लागत दोब्बरभन्दा बढी भइसक्दासमेत उनलाई कसैले हटाउन सकेको छैन । ऊर्जा मन्त्रालयको नेतृत्वलाई नै प्रभाव पार्न सक्ने व्यक्तिका रूपमा श्रेष्ठलाई आफूलाई अरुका अगाडि भन्दै आएका छन् ।

आयोजनाको व्यावसायिक उत्पादन आगामी वैशाखसम्म गर्ने दाबी गरिएको छ । तर, अहिलेसम्म पाइप नै फिट गरिएको छैन । एक्स्पान्सन ज्वाइन्ट पाइप राख्ने ठाउँमा वैकल्पिक पाइप राखेर उत्पादन थाल्ने तयारी भए पनि पूर्वनिर्धारित डिजाइनलाई अन्तिम अवस्थामा आएर किन परिवर्तन गरियो ? भन्ने प्रश्न उब्जेको छ । आयोजनाको माथिल्लो ठाडो सुरुङ जडान कार्य लट–२ को ठेक्का प्याकेजअन्तर्गत हाइड्रो मेकानिकल सामानको आपूर्ति तथा जडान कार्यको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेलवे इन्जिनियरिङले गरेको हो ।

आयोजनाको ३ सय ७३ मिटर गहिराइको तल्लो ठाडो सुरुङमा पाइप जडान कार्य लट–३ अन्तर्गत पावरहाउस निर्माण कार्यका लागि छानिएको ठेकेदार अस्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले गरेको हो । त्यस्तै, दुवै सुरुङमा पेनस्टक पाइप आपूर्ति तथा जडान गर्ने ठेक्का पाएको टेक्सम्याकोले आपूर्ति र जडानमा ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा एन्ड्रिजलाई दिइएको थियो । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच २३ पुस ०७५ मा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *