काठमाडौं । विद्यादेवी भण्डारी आलंकारिक राष्ट्रपति हुन् । नेपालको संविधानले राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएको छैन । तर, वर्तमान राष्ट्रपति भण्डारीले कार्यकारी अधिकार प्रयोग गरेको अनुभव सबैले गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीलाई सातामा दुई–तीन भेट्नु, नेकपाको विवादमा ओलीलाई साथ दिनु, प्रधानमन्त्री ओलीले संसद् भंग गर्दा गरेको गल्तीलाई सच्याएर सर्वोच्च अदालत पठाउनु, ओली पक्षलाई देशव्यापी रूपमा बलियो बनाउन लबिङ गर्नु, शीतल निवासमै बोलाएर विभिन्न आश्वासन दिनु मात्र होइन, चिनियाँ राजदूतमार्फत चीनबाट दबाब दिन लगाउने कामसम्म भएको नेकपाका नेताहरूले नै सार्वजनिक रूपमा बताउन थालेका छन् ।
पछिल्लो केही दिनयता राष्ट्रपति भण्डारी पुनः सक्रिय हुन थालेकी छन् । एक साताभित्रै उनले दुईपटक चिनियाँ राजदूत होउ यान्छीलाई शीतल निवासमा भेटेकी छन् । त्यो पनि घन्टौंसम्म । कुनै पनि देशको राजदूतलाई घन्टौंसम्म राष्ट्रप्रमुखको सरकारी निवासमा राखेर दुनियाँलाई के सन्देश खोजिएको हो भन्दै प्रश्न उठाउन थालिएको छ ।
प्रधानमन्त्री केपी ओलीले हठातमा संसद् भंग गरेर वैशाखमा निर्वाचन मिति तोक्ने निर्णयलाई राष्ट्रपति भण्डारीले मिनेटमै स्वीकृत गरिदिइन् । तर, त्यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ । तर, राष्ट्रपति भण्डारी भने अदालतलाई प्रभावमा पार्न तोकिएको मितिमा निर्वाचन हुनुपर्ने बताउँदै आएकी छन् ।
सोमबार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन बुझ्ने क्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कदमलाई सहयोग पुग्ने गरी वैशाखमै निर्वाचन गर्नुपर्ने भनी अभिव्यक्ति दिएपछि अहिले शीतल निवास प्रधानमन्त्रीको समर्थनमा बढी नै एक्सरसाइजमा लागेको सबैले अनुमान गर्न थालेका छन् ।




