काठमाडौं । सरकारले निर्वाचन घोषणा गरेपछि प्रहरी प्रधान कार्यालय म्यादी प्रहरीको भर्नाको तयारीमा लागेको छ । आगामी वैशाखमा हुने निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुलाउने तयारीमा लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन भएपछि घोषित मध्यावधि निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको जनाएको छ । आगामी वैशाख १७ र २७ को लागि निर्वाचनको मिति तय गरिसकेको समयमा प्रहरीले एक लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीको लागि भर्ना खोल्ने तयारी गरेको जनाइएको छ । त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाकासमेत तयार गरिसकेको छ ।
प्रहरी प्रधान कार्यालयले जनाए अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाको लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसको लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका तयार गरेको हो ।
उक्त खाकाअनुसार आगामी निर्वाचनको लागि एक लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको छ । संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सुनुवाइको क्रममा रहेका बेला सरकारी पक्ष भने निर्वाचनको तयारीमा लागेको हो ।




