काठमाडौं । भारतीय टेलिभिजन जी न्युजले सधैं नेपाल र नेपालीविरुद्ध सामग्री प्रकाशित र प्रसारित गर्दै आएको छ । कहिले प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीबीच ‘इस्किया’ चलेको कार्यक्रम प्रस्तुत गर्छ त कहिले नेपालले नयाँ नक्सा जारी गर्दा विक्षिप्त बनेर कालापानी र लिपुलेक भारतकै रहेको भन्दै नेपालले गरेको दाबीले परास्त गर्नुपर्छ भन्छ ।
हुँदा हुँदा अब नेपालको सगरमाथामा पनि उसले दाबी गर्न थालेको छ । प्रधानमन्त्री ओलीसँग बालुवाटारमा शनिबार अन्तर्वार्ता लिएलगत्तै उनी आइतबार बिहान हेलिकोप्टर लिएर सगरमाथा बेसक्याम्प पुगे । उनले लाइभ कार्यक्रममार्फत सगरमाथामा भारतले दाबी गर्नुपर्ने भिडियो बनाए । जसमा भनिएको छ, ‘माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ, माउन्ट सिकन्दर नाम राख्नुपर्छ ।’
जी न्यूजले सगरमाथा भारतको पनि भएको दाबी गर्दै विवादास्पद अभियानको घोषणा गरेको छ।
मंगलबार प्रशारित एक कार्यक्रममा च्यानलका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथाको बेस क्याम्पमा पुगेर यस्तो अभियानको थालनी गरेको बताएका हुन्। उनले भारतीय राधानाथ सिकन्दरले सगरमाथाको उचाइ पहिलोपटक नापेको दाबी गर्दै यसको नाम पनि उनकै नामबाट राखिनुपर्ने बताएका हुन्।
प्रधान सम्पादक चौधरीले नाम मात्र फेर्ने नभएर सगरमाथामाथि भारतले दाबी गर्नुपर्ने बताएका छन्। ‘माउन्ट एभरेष्टको नाम राधानाथ सिकदरको नामबाट हुनुपर्छ’, प्रशारित कार्यक्रममा उनले भनेका छन्, ‘यसका लागि भारतले अभियान चलाउनुपर्छ, र हामीले विश्वसामु हाम्रो दाबी प्रस्तुत गर्नुपर्छ।’
प्रशारित कार्यक्रममा पटक–पटक ‘नयाँ भारत नयाँ राष्ट्रवादको सच्चा पत्रकारिता, माउन्ट एभरेष्ट’ को अद्भूत दर्शनको वर्णन’ भनिएको छ।




