काठमाडौं । सत्तारुढ नेकपा यतिबेला विभाजित भएको छ । तर, औपचारिक फुट भइसकेको भने छैन । दुई समूहमध्ये एकको प्रधानमन्त्री केपी ओली र अर्को समूहको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरिरहेका छन् ।
पार्टी फुटेर देशदेखि विदेशसम्म दुई चिरा परिसकेको छ । एकले अर्कोलाई मनपरी गालीगलौज गरेको छ, कारबाही गरेको छ । मुख्यमन्त्री र संसदीय दलको नेतालाई अविश्वास प्रस्ताव ल्याएर हटाउन लागिएको छ । दुवै समूहले प्रदेश र जिल्ला जिल्लामा आ–आफ्नो समूह खडा गरिरहेका छन् । तर, यी सबैका बाबजुद पनि नेकपा विभाजन भएको स्वीकान ओली, प्रचण्ड–माधव नेपाल स्वीकार्न तयार छैनन् ।
नेकपाको आधिकारिकतासम्बन्धी निर्वाचन आयोगमा परेको मुद्दाबारे आयोगले नै नेकपा विभाजन भएको वा नभएको भन्ने कानुनी प्रक्रिया सुरु गर्न अप्ठेरो भएको निष्कर्ष निकालेको छ ।
पार्टी विभाजन भएको स्वीकार्न दुवै पक्ष तयार भएको भए एउटा मूल पार्टी र अर्को नयाँ पार्टी हुन्थ्यो । तर, दुवै पक्षले आफैं असली नेकपा भएको र चुनाव चिन्ह पनि सूर्य नै भएको दाबी गरेपछि निर्वाचन आयोगले गर्ने कानुनी प्रक्रिया अलमलमा परेको छ । अहिलेसम्म कसैले पनि कानुनी रूपमा दाबी नगरेको आयोगले जनाएको छ । जसका कारण लामो समयसम्म नेकपा विवाद नमिल्ने र अन्त्यमा कुनै बहानामा एक हुन सक्ने आशंका गरिएको छ ।
केही दिनअघि प्रचण्ड–माधव नेपाल पक्षले आयोगलाई लेखेको जवाफी पत्रमा यस्तो भनिएको छ, ‘यस पार्टीले त्यस आयोगलाई दिएको उल्लेखित सबै विधिवत् पूर्वजानकारी पत्रानुसार यस पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई यस पार्टीको तेस्रो पूर्ण बैठकको निर्णय अनुसार अनुशासन उल्लंघनमा कारबाही गरी अध्यक्ष पदबाट हटाई सो पदमा पार्टीको बरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष पदमा चयन गरेको हुँदा पदाधिकारी हेरफेर व्यहोरा राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २५ अन्तरगत पदाधिकारी हेरफेर भएको व्यहोरा जनाई दल दर्ता कितावमा अभिलेख राखी अध्यावधिक गरिदिनु हुन सादर अनुरोध गर्दछौं ।’ यसमा नेकपा कानुनतः आफ्नो भन्ने दाबी गरिएको देखिन्न ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अझै पनि सत्तारुढ नेकपा विभाजन भएको विश्वास छैन । केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल कम्युनिस्ट हुन्, एउटा आत्मालोचना गर्दै फेरि हामी एक भयौं भन्ने अवस्था नआउला भन्न नसकिने उनको निष्कर्ष छ । सोही कारण देउवाले आफू निकट नेताहरूलाई भन्ने गरेका छन्, ‘जबसम्म नेकपा विभाजन भएर अलग अलग चुनाव चिन्ह र झन्डा पाउँदैनन्, तबसम्म कांग्रेस एक्लै आन्दोलनमा हिँड्नुपर्छ ।’




