ताजा समाचार

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्चस्तरीय प्रतिनिधिमण्डल आज नेपाल भ्रमणमा आउँदै छ ।

चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली नेपाल भ्रमणमा आउन लागेको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भए लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले नेपाल आउनुलाई अर्थपूर्णरुपमा लिइएको छ । सो टोलीले नेकपाको विभाजनका कारण खोतल्ने बुझिएको छ।

उपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डल चार दिन नेपालमा रहनेछ । नेपाल बसाइका क्रममा दुवै नेकपाका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरूसँग भेटवार्ता गर्ने तय भएको छ।

बुल्गेरियाका लागि चिनियाँ राजदूत समेत रहेका गुओ सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्रीका रुपमा कार्यरत छन्। विभागका चार जना उपमन्त्रीमध्ये गुओ सबैभन्दा वरिष्ठ हुन्। गत महिना चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले नेपाल भ्रमण गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *