काठमाडौं । पार्टी विभाजन भएको एक महिना नपुग्दै प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणको तयारी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तोमा प्रधानमन्त्री केपी शर्मा ओली छिमेकी मुलुक भारतको भ्रमणमा जाने तयारीमा लागेको सरकार निकट उच्च स्रोतले जनाएको छ ।
उनको भ्रमण यही पुसको तेस्रो सातापछि हुनसक्ने प्रारम्भिक परराष्ट्र मन्त्रालय निकट स्रोतको दावी छ । पार्टी विभाजन भएको र प्रतिनिधिसभासमेत भंग भइसकेको अवस्थामा प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन किन भारतीय पक्षले प्रस्ताव अघि बढायो भन्ने कुरा अर्थपूर्ण मानिएको छ । किनकि अहिले ओली कामचलाउ हैसियतको प्रधानमन्त्री हुन् ।
उनको भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निम्तो आउने र यसको घोषणा चाँडै हुनसक्ने एक उच्च स्रोतले बताएको छ । नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय बार्ता तय भइसकेको अवस्थामा प्रधानमन्त्री स्वयं भारत भ्रमणको तयारीमा लागेकाले परराष्ट्र मन्त्रीस्तरीय वार्ता भने अन्यौलमा परेको बताइएको छ ।
भारतीय पक्षको आग्रहवमोजिम नै ओलीले आफ्नातर्फबाट एउटा सानो टोलीलाई नयाँ दिल्ली पठाएको र सो गैरराजनीतिक टोलीले भारतको जासुसी संयन्त्रमार्फत प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीको काम गरेको बताइएको छ ।
कालापानी लिपुलेक तथा लिम्पियाधुरासहितको नयाँ नक्सा जारी भएपछि भारतसँग सम्बन्ध विग्रेको थियो । तर भारतसँग सम्बन्ध सुधार भएलगत्तै नेपालमा सत्तारुढ दलको विभाजन भएको छ । पार्टी विभाजन भएलगत्तै भारत भ्रमणमा जान लागेका ओलीले भारतमा गएर कुनै सम्झौता त गरेर आउँदैनन भन्ने आशंका पनि उत्तिकै जन्मेको छ ।
अहिले एकाएक भारतले ओलीको भ्रमणको भित्री तयारीसहित प्रस्ताव पठाउनु र सोको गृहकार्यका लागि ओलीले आफ्नो टोली नै दिल्ली पठाउनुले नेपाल नीतिमा भारतको बद्लावको संकेत गरेको छ । नेपालमा भारतविरोधी अभियानको नेतृत्व गर्दै शासन संचालन गर्न खोजे जुनसुकै बेला पनि त्यस्तो राजनीति दुर्घटनामा पर्छ भन्ने सन्देश भारतले वर्षौंदेखि दिँदै आएको छ ।
ओलीले गएको आमनिर्वाचनमा बहुमत ल्याउन सक्नुमा भारतको नेपालप्रतिको ज्यादतिका विरुद्ध स्पष्ट अडान राख्नु नै मुख्य कारण थियो । मुलुकको संकटग्रस्त राजनीतिक अवस्थाका बेला ओलीको अप्रत्यासित भारत भ्रमणको आन्तरिक तयारी गरिनुले ओलीले भारतीय सत्ताको समर्थन लिन खोजेको सन्देश प्रवाह हुने कुरामा शंका छैन ।
के अहिले ओलीले आफ्नो कदमको समर्थनमा भारतीय साथ खोजेकै होलान ? भन्ने प्रश्नको उत्तर भने आइसकेको छैन । निकटस्थहरुका अनुसार उनी भारतीय खेमासँग बर्षौसम्म नजिक रहे पनि प्रधानमन्त्री हुने बेलामा भारतको विरोध गर्दै आएका थिए ।
अघिल्लो पटक नाकाबन्दी रहँदा ओलीले भारतको नाकाबन्दीको विरोध गर्दा नेपाली जनताका मन जितेका थिए । अहिले पनि नयाँ नक्सा जारी गरेर आफ्नो छविलाई उचो बनाएका बेला पार्टीनै विभाजित हुँदा ओली संकटमा रहेका छन् ।




