मुख्य समाचार

प्रहरीको कपडा खरिदमा फेरी पनि कमिशनकै चक्कर

काठमाडौं । नेपाल प्रहरीमा खरिद गरिएका लत्ता कपडा गुणस्तरहीन भएपछि लगाएको तीनदेखि चार महिनामै फाट्न थालेपनि फेरी पनि पुरानै कम्पनीहरुलाई खरिद अनुमति दिएर प्रहरीका हाकिमहरु क्मिशनको चक्करमा फसेका छन् । नेपाल प्रबन्ध शाखाले खरिद गरेको लत्ता कपडा करिब ७० हजार प्रहरीलाई वितरण गरिएको कपडा समयभन्दा पहिला नै च्यातिने र फाट्ने गरेपनि उनीहरु चेतेका छैनन ।

प्रहरीभित्रको कमिसनको खेलले गर्दा गुणस्तरहीन लत्ताकपडा खरिद हुँदै आएको र त्यही कपडा सबै प्रहरीलाई वितरण हुँदा उनीहरु मारमा परेका छन् । नेपाल प्रहरी स्रोतका अनुसार ठेकेदार र केही प्रहरी अधिकारीबीच हुने कमिसनको खेलको असर खरिद गरिएका सामानको गुणस्तरमा पर्न गएको हो । विगतदेखि नै प्रहरीको प्रबन्ध शाखाले खरिद गर्ने लत्ताकपडामा गुणस्तहीन हुँदै आएको गुनासो आएपनि त्यसलाई सुधार गर्न सकेको छैन ।

नयाँ प्रहरी महानीरिक्षक शैलेश थापाले आर्थिक प्रशासन महाशाखमा पुरुषोत्तम कँडेललाई जिम्मा दिएका छन् । प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार आगामी बर्षका लागि प्रहरीले प्रि बिड पनि शुरु गरिसकेको छ । गत भदौ १२ गते नेपाल प्रहरीले लत्ताकपडा खरिदका लागि टेण्डर नोटिस निकालेको छ । ‘भदौ १२ कै टेण्डरमा सामावेश भएका कम्पनीहरुलाई सर्ट लिष्टिङ’ गरी प्रि बिडका लागि बोलाइएको थियो अहिले उनीहरुलाई नै ठेक्का दिइएको छ ’, स्रोतले भन्यो ।

यसअघिका ठेक्कामा ठूलै परिमाणको कमिसनको खेल हुँदै आएको छ । गत चैतमा बुझाइएको लत्ताकपडा पनि गुणस्तहीन भएको स्रोतको दावी छ । जुन यो वर्षका लागि वितरण हुँदैछन् । पनि कमिसनकै कारण गुणस्तरहीन लत्ताकपडा, डिएसएम बुट, पार्क ज्याकेट खरिद गरिएको स्रोतको दाबी छ । ठेकेदार कम्पनीहरुले प्रहरीको प्रबन्ध शाखामा काम गर्ने कर्मचारीलाई मात्रै १० प्रतिशत कमिसन बुझाएर गुणस्तरहीन सामान बुझाउने गरेका छन् ।

‘ठेकेदारले भुक्तानीको सुरु रकम जति आउँछ त्यसको १० प्रतिशत कमिसनबापत बुझाउने गरेका छन् । जुन रकम माथिसम्मै पुग्छ’, स्रोतले भन्यो । गत वर्ष ७३ करोड रुपैयाँको ठेक्कामा मोबिाइलाइजेसन खर्चबापत निकासा भएको १० प्रतिशत रकम कमिशनमा खर्च भएको थियो । ‘कमिसन रकम प्रबन्ध शाखामा काम गर्ने सबै तहका प्रहरी कर्मचारीदेखि नेतृत्व तहसम्म पुग्छ,’ स्रोतले भन्यो ।

गत वर्ष प्रधान कार्यालयले जय सलिना इन्टरप्राइजेज र जय श्री सप्लायर्सले २१ लाख ५१ हजार जोर सर्टपाइन्टको कपडा प्रतिमिटर एक सय ८० रुपैयाँका दरले आपूर्ति गर्ने भनी प्रस्ताव गरेको बोलपत्र स्वीकृत गरेको थियो । ३८ करोड ७३ लाख ६० हजार रुपैयाँको सो ठेक्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकै बेला जय सलिनालाई डिएसएम बुटको ठेक्का दिइएको थियो । सलिनाकै सेटिङमा तेजसम इन्टरप्राइजेजलाई उलन स्वेटर, क्राउन टेक्सटाइललाई कटन पाइन्ट र उलन सर्टको ठेक्का दिइयो ।

गुणस्तर तथा नापतौल विभागले निर्धारण गरेको मापदण्डसमेत पूरा नगरेको र ठेक्कामा उल्लिखित सामान नै दाखिला नगरी भुक्तानी लिएको तथा गुणस्तहीन सामान आपूर्ति गरेको विषयमा अख्तियारले जयसलिनामाथि छानबिन गरिरहेको छ । नेपाल प्रहरीले भने जय सलिनालाई कमिसन संकलकको रुपमा बिचौलिया नियुक्त गरेको स्रोतको दाबी छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले तोकेको मापदण्डको डिएसएम बुट नेपालमा उत्पादन गर्न कठिन छ । तर जय सलिनाले भक्तपुरमा रहेको एभरेस्ट नेपाल फुटवेयर इन्डस्ट्रिज प्रालिमा बनाइएको बुट बुझाइएको थियो । ‘जवानले पाउने कपडा मिटरको तीन सय रुपैयाँ पनि पर्दैन ।

हाकिमलाई ल्याइएको कपडा मिटरको १८ सय रुपैयाँसम्मको हुन्छ’, प्रहरी प्रधानकार्यालय स्रोतले भन्यो । अहिले वितरण भएको कपडा प िनगत वर्षकै ठेक्का भएकाले यो वर्षपनि प्रहरीले गुणस्तरीय कपडा पाउने संभावना छैन । अबको ठेक्कमा भने प्रबन्ध शाखाले दुई पटक ठेकेदारहरुसँग छलफल गरिसकेको छ । ‘उनीहरुलाई राम्रो कपडा सप्लाई गर्न भनिएको छ गुणस्तर चेक जाँच गर्दा फेल भए कपडा फिर्ता गरिदिन्छु भनेका छन्’, स्रोतले भन्यो ।

गत साउनमा बसेको पोलेसी कोर्डिनेशन कमिटी (पीसीसी)को बैठकले लत्ता कपडा खरिद गर्दा गुणस्तरमा कुनै पनि सम्झौता नगर्ने र टेण्डरको शुरुमा गुणस्तर मापनका लागि कपडा पठाइएको कम्पनीलाई कपडा भण्डारमा आईसकेपछि त्यसकम्पनीमा नपठाई अर्को कम्पनीलाई मापन गर्न दिने निर्णय गरे अनुसार प्रबन्ध शाखाले ठेकेदारहरुलाई बोलाएर त्यसको जानकारी समेत दिइसकेको छ । प्रहरीको लत्ता कपडा खरिदमा ठेकेदार ज्ञानेन्द्र बस्नेत, रितेश अग्रवाल, श्रवण अग्रवाल, टोपेन्द्र बिसी, राजमान मिश्र, पिताम्बर मुन्काको सिण्डीकेट चल्दै आएको छ । अहिले पनि उनीहरुकै कम्पनीहरु ठेक्का हालेका छन् । त्यसमध्ये प्रबन्ध शाखाले बाँडेर दिने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *