मुख्य समाचार

ओली प्रचण्डबीच आफनै पार्टीभित्र खुलेरै चलखेल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आफ्ना समूहले एक अर्का विरूद्धमा खुलेरै गुटबन्दी चलखेल सुरु गरेका छन् । ओलीले वालुवाटार र दाहालले खुमलटारलाई त्यसको अखडा बनाएका छन् । ओलीले दाहालले गरेको गुटबन्दीको सामना गर्न आफू तयार रहेको बताएका छन् । अर्का अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ओलीलाई पार्टी र प्रधानमन्त्रीबाटै ‘साइड’ लगाउने गृहकार्य सुरु गरेपछि ओलीले यस्तो पनि छुट्टा छुट्टै समूहमा भेला बैठकहरु शुरु गरेका छन् ।

प्रचण्ड–नेपालको गठबन्धनप्रति लक्षित गर्दै बिहीबार वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा उनले आफूविरुद्ध गरिएका सबै षड्यन्त्र निस्तेज पार्ने बताएका थिए । बैठकको सुरुमै हाल जारी विवादबारे आफ्नो धारणा राख्दै उनले पार्टीभित्रबाट अविश्वासको प्रस्ताव ल्याउन खोजिएको बताएका थिए । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले कोटेश्वरको पेरिसडाँडामा कानुन व्यवसायीहरुसँग गरेको छलफलप्रति संकेत गर्दै सो योजना असफल बनाउने बताए । प्रचण्ड र नेपालले बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा कानुन व्यवसायीहरूसँग परामर्श गरेका थिए । समाचार स्रोतका अनुसार आफूलाई सरकारबाट हटाउने प्रयास भए दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरेका छन् ।

यदि त्यो योजना सफल नभएमा ओलीले संसद विघटन गरेर आफ्नो नेतृत्वमा चुनाव गराउन सक्ने राजनीतिका एक जानकार व्यक्तिले बताए । नेकपामा पछिल्लो समय कर्णाली प्रदेशको विवाद, मन्त्रिपरिषद् विस्तार, राजदूत सिफारिस, भारतीय खुफिया एजेन्सी ’रअ’का प्रमुख सामन्त गोयलसँगको भेट, पर्सा घटनालगायत विषयमा तीव्र अन्तरविरोध छ । यसअघि पनि पटकपटक विवाद बढेर पार्टी विभाजनको संघारमा पुगिसकेको भए पनि पछि सहमति गरेर पार्टी फुटबाट जोगिएको छ ।

प्रधानमन्त्री ओलीले आफूलाई अप्ठ्यरो परेपछि धेरै पटक उधारो आश्वासन दिदै माधव नेपाललाई फकाउने कोसिस गरेपनि नेपालले तत्कालै पत्याइहाल्ने र विश्वासमा परेर ओलीलाई सहयोग गरिहाल्ने अवस्था नभएपछि ओलीले पनि उनीहरुलाई ठिक लगाउने उपाएहरु निकालिरहेका छन् । ओलीले नेपाललाई धेरै पटक धोका दिएकाले अहिले पनि विश्वास गरेर ओलीलाई सहयोग गर्ने अवस्था नभएकाले नेपाल भने विच्किरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *