मुख्य समाचार

सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न प्रम ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने स्पष्ट पारे ।

पछिल्लो समय पार्टीभित्रैबाट राजीनामा दिन दवाब सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भए पनि राजीनामा नदिने स्पष्ट पारेका हुन् । उनले भने, ‘तपाईंहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ ? राजीनामा दिन मिल्छ ? मेरो लागि होइन, मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो । त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइ त राजीनमा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

प्रधानमन्त्री ओलीले आफ्नो रहरले भन्दा पनि जनताको आवश्यकता र समर्थनले प्रधानमन्त्री बनेको समेत बताए । उनले कुनै पनि जालझेल तथा तिकडमबाट नभई व्यापक जनसमर्थनबाट प्रधानमन्त्री बनेकाले सरकार फेरिन्छ कि भन्ने दुविधामा नपर्न समेत आग्रह गरे ।

उनले भने, ‘म यस ठाउँमा आएको मेरा रहरले होइन जनताको आवश्यकता र समर्थनले हो । यहाँ पुगेको म जालझेल तिकडमबाट होइन । यहाँ पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईंहरु ढुक्क भएर काममा लाग्नुस् । यो सरकार फेरिन्छ कि बदलिन्छ कि धेरैले धेरैपल्ट धेरै प्रकारका प्रयास भए । भित्र, बाहिर अनेक थरिका कोसिसहरु आए । जेमा पनि आलोचना गर्ने, जेमा पनि आलोचना गर्ने । त्यस प्रकारका प्रवृत्तिहरु छन् त्यसबाट प्रभावित नहौं ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *