काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो दिएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मङ्लबार साँझ बोलाएर चासो दिएको स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीले विगतमाजस्तै पार्टीभित्रको विवाद मिलाउन भूमिका खेलिदिन र पार्टीको सबलीकरणमा जोड दिन आग्रह गरेक थिइन । नेकपाको विवादमा पटकपटक राष्ट्रपति भण्डारीले समन्वयको भूमिका खेल्दै आएकी छन् । मङ्सिर ४ गतेको समझदारी निर्माणमा पनि राष्ट्रपतिको महत्त्वपूर्ण भूमिका थियो ।
त्यस्तै गत साउन ३ गते पनि मङ्सिरमै महाधिवेशन गर्ने सन्दर्भमा राष्ट्रपति कार्यालयमै समझदारी जुटाउने प्रयास गरिसकेको थियो । पछिल्लो विवादमा पनि राष्ट्रपतिले देखिनेगरी नै चासो र चिन्ता व्यक्त गरेको स्रोतको भनाइ छ । राष्ट्रपति भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई शितल निवासमा बोलाएर छलफल गरेकी छिन् ।
गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले पुष्टि गरेका छन् । नेकपाभित्र विवाद चर्किएका बेला गौतमलाई शितल निवास बोलाइनु अर्थपूर्ण मानिएको छ । आइतबार उपाध्यक्ष गौतम अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि सहभागी भएका थिए । नौ सदस्यीय सचिवालयमा गौतम निर्णायक अवस्थामा छन् । गौतम जता लाग्यो, उतै बहुमत पुग्छ ।




