देश

समितिका नवनिर्वाचित सभापतिहरूको सभामुखसँग भेट, समितिलाई ‘मिनी संसद’ जस्तै प्रभावकारी बनाउन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा तथा संयुक्त समितिका नवनिर्वाचित सभापतिहरूले आज सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।संसद भवनमा भएको उक्त भेटका क्रममा सभापतिहरूले आफ्नो जिम्मेवारी औपचारिक रूपमा सम्हाल्दै आगामी कार्यदिशाबारे छलफल गरेका हुन् ।

यस अवसरमा सभामुख घिमिरेले संसदीय समितिहरूलाई ‘मिनी संसद’ को रूपमा प्रभावकारी ढंगले अघि बढाउन सभापतिहरूलाई निर्देशन दिएका छन् । उनले समितिको कार्यसम्पादनलाई सक्रिय, परिणाममुखी र जनउत्तरदायी बनाउन जोड दिँदै विधायिकी अभ्यासलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए ।

सभामुख घिमिरेले दलगत प्रतिनिधित्वका आधारमा निर्वाचित भए पनि समितिको कार्य सञ्चालनमा दलगत आस्था वा प्रभाव देखिन नहुने स्पष्ट निर्देशन दिए ।

उनले संसदीय मर्यादा, निष्पक्षता र संस्थागत स्वतन्त्रतालाई प्राथमिकता दिन आग्रह गर्दै संघीय संसद सचिवालय तथा आफ्नो तर्फबाट आवश्यक सहयोग सधैं उपलब्ध रहने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा सहभागी समितिका सभापतिहरूले आफूहरूलाई प्राप्त जिम्मेवारी पूर्ण निष्ठा र कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

उनीहरूले संसदीय मूल्य र मान्यतालाई आत्मसात गर्दै विगतका असल अभ्यासलाई निरन्तरता दिने तथा समसामयिक आवश्यकताअनुसार समितिका गतिविधिलाई अझ प्रभावकारी र नविन ढंगले अघि बढाउने धारणा राखे ।

उक्त अवसरमा प्रतिनिधिसभाका १० वटा र संयुक्त २ वटा गरी १२ वटा संसदीय समितिका नवनिर्वाचित सभापतिहरूको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *