मुख्य समाचार

अध्यक्ष प्रचण्डको प्रस्ताव प्रम ओलीद्वारा ठाडै अस्वीकार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद हेरफेरका विषयमा सोमबार पनि २ घन्टा छलफल भयो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुवै अध्यक्ष आ–आफ्नो अडानमा अडिग रहेको समाचारस्रोतले बतायो ।

प्रधानमन्त्री ओली बढीमा ६ जना मन्त्री फेर्ने मनस्थितिमा छन् भने दाहाल पुनर्गठनकै सन्देश दिने गरी बहुसंख्यक मन्त्री फेर्नुपर्ने र सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई समेत मन्त्रिमण्डलमा समेट्नुपर्ने पक्षमा रहेका छन् । असोज ६ गतेको नेकपा सचिवालय बैठकले तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो ।

त्यसयता दुई अध्यक्षबीच निरन्तर छलफल भए पनि ठोस सहमति जुटेको छैन । सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात, उर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने विषयमा समेत कुरा भइरहेको बताइएको छ ।

छलफलमा ठोस् सहमति जुटन नसकेपछि कुराकानीलाई निरन्तरता दिने भन्दै बालुवाटारबाट अध्यक्ष प्रचण्ड बाहिरिएका थिए । केही मन्त्री मात्र फेर्ने कि अधिकांश मन्त्री फेर्ने भन्ने विषयमा ओली–दाहालबीच सहमति जुटन सकेको छैन । दुई नेताबीच बिहीबार, शुक्रबार र आइतबार पनि यही विषयमा छलफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *