काठमाडौं ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा गरेको छ।
यातायात व्यवस्था विभागले विद्यार्थी छुट उपलब्ध गराउन पठाएको पत्रको जवाफमा महासंघले राज्यले व्यवसायीलाई दिँदै आएको कर सहुलियत फिर्ता नभएसम्म कुनै पनि हालतमा विद्यार्थी छुट लागू नगर्ने अडान लिएको हो।
महासंघले २०६५ सालको पुरानो निर्णयका आधारमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिइँदै आएको र त्यसबापत व्यवसायीलाई वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशत छुट दिने व्यवस्था रहेको दाबी गरेको छ। तर संघीयता लागू भएपछि २०७३ सालदेखि उक्त सहुलियत हटाइएकाले व्यवसायीमाथि अन्याय भएको महासंघको भनाइ छ।
महासंघका अनुसार प्रदेश सरकारले मनोमानी रूपमा कर असुल्ने र संघीय सरकारले सहुलियत हटाउने काम गरेको भन्दै राहतविनाको सेवा दिन नसकिने अवस्था आएको हो।महासचिव डेकनाथ गौतमले हस्ताक्षर गरेको पत्रमा कोशी प्रदेशबाहेक अन्य क्षेत्रमा कुनै सहुलियत नपाएको उल्लेख गर्दै सरकारले व्यवसायीलाई दबाबमा पार्न खोजेको आरोप लगाइएको छ।
महासंघले संघीय र प्रदेश सरकारले ६० प्रतिशत कर छुटको व्यवस्था कानूनी रूपमा पुनः लागू नगरेसम्म विद्यार्थी छुटसम्बन्धी कुनै निर्देशन पालना नगर्ने स्पष्ट पारेको छ।




