काठमाडौं । सशस्त्र प्रहरीको इतिहासमै पहिलो पटक गण कमाण्ड नयाँ पुस्तामा पुगेको छ । सरुवामा ४२मध्ये ३८ वटा गण सशस्त्र प्रहरी निरीक्षकबाट प्रवेश गरेका सि.सं. २ अर्थात् दोश्रो व्याचका सशस्त्र प्रहरी उपरीक्षकहरुको जिम्मामा परेपछि इतिहाँसमै नयाँ पुस्ताका गण कमाण्ड परेको हो ।
४२ जना गणपति मध्ये चार जना बाहेक ३८ जना सशस्त्र प्रहरीको दोश्रो व्याचका भर्ना हुन् भने एक जना सि.सं. १ अर्थात् पहिलो व्याचबाट छन् भने अन्य तीन जना समेत पहिलो पटक गण कमाण्ड गर्ने अधिकृतहरु हुन् । यसबाट फिल्ड कमाण्ड थप मजवुद चुस्त दुरुस्त हुने अपेक्षा गरिएको छ । यसका साथै सशस्त्र प्रहरीको हालैको सरुवा निस्पक्ष¸ पारदर्शी र सन्तुलित समेत देखिएको छ ।
डिआईजि सरुवामा प्राय सबै भर्खर डिआईजि भएका र पहिलो पटक कमाण्ड पाएकाहरु छन् भने कमाण्डबाट कमाण्डमा कसैलाई पनि पठाईएको छैन । जम्मा आठ वटा बाहिनीका बाहिनीपतिमा यस अघि कमाण्ड गरेका दुइ जना डिआईजि मन्दीप श्रेष्ठ र प्रविनकुमार श्रेष्ठ मात्र हुन् भने अन्य ६ जनाकै पहिलो कमाण्ड हो । श्रेष्ठद्वय पनि गत वर्ष नै मुख्यालय सरुवा भएका थिए ।
उनीहरुको एक वर्ष पछि मात्र बाहिनी सरुवा भएको हो । ‘यो सरुवा निष्पक्ष पारदर्शी र सन्तुलित कार्यको अब्बल उदाहरण हो¸ यस कार्यमा सशस्त्र प्रहरी महानिरीक्षक खरो रुपमा उत्रनु भएको छ’, सशस्त्र प्रहरी बल मुख्यालयका एक उच्च अधिकृतले भने । यसका साथै संगठनको आन्तरिक शुद्धिकरणमा महानिरीक्षक शैलेन्द्र खनालको काम कारवाही व्यवहारमा नै देखिन थालेको छ ।
‘देश र जनताको लागि फिल्डमा उच्च अनुशासनका साथ निष्पक्ष र उत्कृष्ट कार्य गर्नुहोस होइन भने एक वर्षका लागि कमाण्ड पाए भनेर नसोच्नुस् विचमा नै तानिन सक्नु हुन्छ’ गत वर्ष कमाण्डमा जानु अघि गणपतिहरुलाई महानिरीक्षक शैलेन्द्र खनालले निर्देशन दिने समयमा बोलेका कुरा हुन् यी । जुन कुरा फिल्डमा देखिएको छ ।
सानासाना गल्ती समेत नगर्न दिइएको निर्देशनको उचित पालना नभए पछि एक वर्ष अवधि नपुग्दै तीन जना गणपतिहरु विचमा नै कमाण्डबाट अलग भएका छन् । यस विचमा नं. १० गण¸ सर्लाहीबाट सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठ¸ नं.२७ गण¸ रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक बसन्त कुमार वोगटी र नं. ३३ गण¸ जुम्लाबाट सशस्त्र प्रहरी उपरीक्षक सरद न्यौपानेलाई कार्यकाल पुरा नहुँदै कमाण्डबाट फिर्ता गरिएको छ ।
श्रेष्ठ र वोगटीलाई सीमामा सन्तोष जनक काम नगरेपछि र न्यौपानेलाई राशन सम्बन्धी उजुरी परेपछि कारबाही स्वरुप फिर्ता गरिएको थियो । राम्रालाई पुरस्कार र गल्ती गर्नेलाई सजाय दिने यस प्रकारको कार्यले फिल्डमा कमाण्डरहरु थप जिम्मेवार र सचेत हुने अपेक्षा समेत सशस्त्र प्रहरी बलको छ । यसका साथै एक वर्षको विचमा पाँच सय बढी जना कर्मचारी समेत सजायको भागिदार भएका छन् ।




