काठमाडौं । सडक दुर्घटना रोक्न तथा सवारी साधानको तीव्र गति रोक्न ट्राफिक प्र्रहरीले आधुनिक उपकरण ‘लिडार स्पिड गन’ प्रयोगमा ल्याउने भएको छ । ट्राफिकले तोकेको गति, समय र किलोमिटरको आधारमा नगुडेका सवारीसाधनलाई नियन्त्रणमा लिन सो उपकरण प्रयोगमा ल्याउन लागेको हो । तीव्र गतिबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले टाइम कार्ड, राडर गन, ससिटिभी जस्ता प्रविधि प्रहरीले प्रयोग गर्दै आएपनि अब भने लिडार गनले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण हुने ट्राफिक प्रहरीको दावी छ ।
यस्तो उच्च प्रविधियुक्त गनले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्छ
यातायात व्यवस्था विभागले सोमबार ८ थान ‘लिडार स्पिड गन’ प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरेको छ । उक्त ‘लिडार स्पिड गन’ प्रधान कार्यालयले ट्राफिक प्रहरीलाई दिने बताएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजवहादुर शाहीले उक्त उपकरणले इम्बोस्ड नम्बर प्लेट र अन्य अवस्था स्क्यान गर्न सक्ने भएकाले प्रहरीको लागि अति नै उपयुक्त भएको बताए । उनले भने, ‘नेपाल प्रहरीसँग यस्तो उपकरण ज्यादै कम छ, यस्ता उपकरणले प्रहरीलाई काम गर्न सहज हुन्छ ।’
यातायात व्यवस्था विभागका महानिर्देशक ई. गोगनबहादुर हमालले ८४ लाख रुपैयाँ मूल्य बराबरका उक्त गन हस्तान्तरण गरेका थिए । गन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना रोक्न यसले मुख्य सहयोग गर्ने बताए । उनले भने, ‘यस्तो उच्च प्रविधियुक्त गनले ट्राफिक व्यवस्थापन र सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग गर्छ, यस्ता प्रविधिहरु थप जडान गर्नतर्फ हामीले चासो दिएका छौं ।’
यातायात व्यवस्था विभागका महानिर्देशक ई. गोगन बहादुर हमालले यातायात क्षेत्रमा अनुशासन र यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य रहेको बताए । उनले भने, ‘यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागीपरेको छ, इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी, साधनमा जिपिएस प्रणाली जडान, स्मार्ट लाईसेन्स वितरणलगायत काम हामीले गरेका छौं ।’ उनले सवारीको गति मापन, सवारी साधन र सवारी चालक पहिचान तथा प्रमाण संकलनका लागि उक्त यो उपकरण प्रयोग हुने बताए ।
बढ्दो सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले गति, समय र किलोमिटर तोकको छ । तर, राजधानीमा गुड्ने कुनै पनि सवारीले यसलाई पालना गरेको देखिँदैन । तीब्र गतिमा भएको सवारीसाधनलाई ट्राफिक प्रहरी नियन्त्रणमा लिएपनि त्यति कारबाही गरेको देखिँदैन । कतिपयले ट्राफिक प्रहरी देखेपछि झन् हुइँक्याउने गरेका कारण पनि प्रहरीले तीब्र गतिमा रहेको सवारीलाई नियन्त्रणमा लिन सक्दैन । तीब्र गतिमा सवारी चलाउनेलाई कारबाही गर्नको लागि कानुन भने छैन । दुर्घटना वा क्षति भयो भने मात्रै सिसीटीभि फुटेजको आधारमा नियन्त्रणमा लिने गरेको छ । यो उपकरणले तीब्र गति नियन्त्रण र अन्य कारबाही गर्नको लागि सहयोग गर्नेछ ।
ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले ओभरस्पीड कन्टोल गर्न यस्तो उपकरणले सहयता पु-याउने उनले बताए । उनले भने, ‘यसबाहेक ४ वटा राडर मेसिन पनि हामीसँग छ, यसको सहायतामा हामीले गुडिरहेको सवारी नियन्त्रणमा लिन सक्छौं,’ उनले भने । उनका अनुसार उक्त राडार गन सवारीतिर तेर्साएपछि कति स्पीड छ भन्ने थाहा हुन्छ । उपत्यकामा ट्राफिक प्रहरीका ४५ वटै इकाई कार्यालयहरुमा यो उपकरण हुने हो भने काम गर्न सहज हुने उनको भनाई छ । अझ राजमार्ग क्षेत्रमा यो उपकरण धेरै नै आवश्यक रहेको एसएसपी ढकालले जानकारी दिए ।




