काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सोमबार साँझ सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो बैठक कार्की नेतृत्वमा बनेको अन्तरिम सरकारको पहिलो औपचारिक बैठक हो।
गत सोमबार र मंगलबार जेन–जी पुस्ताको तीव्र आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न नियुक्त गरेका थिए। कार्की नेतृत्वको मन्त्रिपरिषद्मा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा कुलमान घिसिङ, अर्थमन्त्रीमा रामेश्वर खनाल र गृहमन्त्रीमा ओमप्रकाश अर्याल छन्। तीनै मन्त्रीसँगै कार्कीले पहिलोपटक औपचारिक बैठक सञ्चालन गर्दै सरकारका प्राथमिकता र आगामी कार्ययोजनाबारे छलफल गर्न थालेकी हुन्।
बैठकले हालैको आन्दोलनका कारण उत्पन्न भएको असामान्य परिस्थिति, सुरक्षा चुनौती, आर्थिक स्थायित्व, क्षति मूल्याङ्कन तथा पुनर्निर्माण लगायतका विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार, मन्त्रिपरिषद्को यो बैठकले अन्तरिम सरकारको नीति–दिशा र जनविश्वास पुनःस्थापित गर्ने प्रारम्भिक सन्देश दिनेछ। नियमित बैठक भए पनि यसलाई आगामी सरकारका कामकारबाहीको ‘पहिलो रोडम्याप’को रूपमा हेरिएको छ।




