काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आगामी बजेट अधिवेशनलाई फरक र प्रभावकारी ढंगले सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।
शुक्रवार सिंहदरबारमा आयोजित संसदीय मामिला पत्रकार समाजसँगको अन्तरक्रियामा बोल्दै उनले संसदका गतिविधिलाई थप पारदर्शी बनाउने योजना अघि सारिएको जानकारी दिए ।
सभामुख अर्यालले संसदका गतिविधि प्रत्यक्ष प्रसारणमार्फत जनतामाझ पुर्याउँदै पारदर्शिता कायम गर्ने आफ्नो प्राथमिकता रहेको बताए । उनले नयाँ अभ्यास र नजिर स्थापित गर्न आवश्यक रहेको उल्लेख गर्दै कुनै पनि गतिविधि लुकाउने पक्षमा आफू नरहेको स्पष्ट पारे ।
साथै उनले सञ्चारकर्मीहरूको संसदमा पहुँच सहज बनाउने प्रतिबद्धता व्यक्त गरे । विधेयक निर्माण प्रक्रियामा सरोकारवालासँग पटक–पटक छलफल गरी समावेशी ढंगले अघि बढ्ने उनको योजना रहेको छ ।
सभामुख अर्यालले कानून निर्माण प्रक्रियालाई छिटो, छरितो र प्रभावकारी बनाउन संसदीय नियमावली संशोधन गर्ने तयारीसमेत भइरहेको जानकारी दिए ।




