राजनीति

उपसभामुख रानाको प्रतिक्रिया : मानव बेचबिखनको आरोप राजनीतिक षड्यन्त्र मात्र

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूमाथि लागेको मानव बेचबिखनसम्बन्धी आरोपलाई निराधार र राजनीतिक षड्यन्त्रको उपज भन्दै खारेज गरेकी छन्। उनले संवैधानिक परिषद्मा नेपाली कांग्रेसको प्रतिनिधित्व नहुनु र आफू प्रतिपक्षी भूमिकामा रहनुका कारण ठूला दलहरूले पदबाट हटाउन खोजेको आरोप लगाइन्। “माथि लगाइएको सबै आरोप नियोजित र निराधार छन्,” रानाले भनिन्, “संविधानिक परिषद्को विषयलाई अड्काउन मेरो पदलाई निशाना बनाइएको हो।”

मानव बेचबिखन प्रकरणबारे एमाले सांसद योगेश भट्टराईले उठाएको प्रश्नलाई अस्वीकृत गर्दै उनले आफ्नी संस्था ‘पीए नेपाल’ ले जेलमा रहेका अभिभावकका बच्चाहरूलाई अस्थायी संरक्षण र शिक्षा मात्र उपलब्ध गराएको स्पष्ट पारिन्। उनका अनुसार, आरोपमा तानिएका बच्चा र अभिभावकहरूले नै मिडियामार्फत सत्य उजागर गरिसकेका छन्। “बालबालिकाको गोपनीयतालाई राजनीतिमा प्रयोग गर्नु नै अपराध हो,” उनले टिप्पणी गरिन्।

रानाले आफू संस्थामा केवल सञ्चालक मात्र नभई ‘आमा’ भएर बच्चाहरूको हेरचाह गर्ने भूमिका निभाएको दाबी गरिन्। राजीनामा दिनुपर्ने कुनै आधार नभएको बताउँदै उनले कांग्रेस र एमाले मिलेर आफ्नो पद खाली गराउन खोजेको आरोपसमेत लगाइन्।

यस्तै, अमेरिकी दूतावासलाई पठाइएको भनिएको पत्रबारे उनले पत्र तयार भए पनि दर्ता वा अग्रसारित नभएको स्पष्ट गरिन्। तत्कालीन महामन्त्री मुकुल ढकाल र तत्कालीन गृहमन्त्री रवि लामिछानेमार्फत भएको छानबिनमा समेत कुनै प्रमाण नखुलेको उनको दाबी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *