काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीको नीति राष्ट्रकै नीति बन्न नसकेसम्म एमाले निर्णायक शक्ति बन्न नसक्ने बताएका छन्। उनले यसका लागि पार्टीले स्थानीयदेखि संघीय तहसम्म सरकारको नेतृत्व गर्ने हैसियत बनाउनुपर्ने आवश्यकता औंल्याए।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन गरिएको थियो।
“एमाले अहिले सरकारको नेतृत्व गरिरहेको छ, तर आफ्नो नीति राष्ट्रकै नीति बनाउने एकल सामर्थ्य अझै छैन,” पोखरेलले भने, “जबसम्म त्यो सामर्थ्य निर्माण हुँदैन, निर्णायक शक्ति बन्न सकिँदैन। त्यसैले पार्टीलाई अझ बलियो बनाउन अपरिहार्य छ।”
महासचिव पोखरेलले वर्ग संघर्षलाई अब निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। उनका अनुसार पछिल्लो समय पार्टीभित्र चुनावलाई राजनीतिक संघर्ष वा वर्ग संघर्षको माध्यमका रूपमा नबुझी व्यक्तिगत अवसर र विगतका योगदानको सम्मानका रूपमा मात्र लिन थालिएको छ, जसले संगठन कमजोर बनाएको छ।
दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतामाथि प्रहार गर्दै उनले ती चुनौतीलाई परास्त गर्न सकेमात्र जनताको बहुदलीय जनवादमार्गी समाजवादको आधार तयार गर्न सकिने बताए।
कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकले कार्यकर्तालाई पार्टी निर्माणतर्फ अभिप्रेरित गर्ने विश्वास व्यक्त गरे। लेखक आनन्दप्रसाद पोखरेलका अनुसार, पुस्तकमा १४ खण्ड रहेका छन्, जसमा १२ खण्ड कम्युनिस्ट पार्टी निर्माणसम्बन्धी र बाँकी दुई खण्ड समसामयिक विषयमा केन्द्रित छन्।




