राजनीति

कसैले पनि पार्टी विभाजन गर्न नसक्ने राप्रपा अध्यक्ष लिङ्देनको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी भित्र कुनै पनि विभाजन हुने सम्भावना नरहेको स्पष्ट पार्दै यसका लागि कसैसँग तागत पनि नहुँने दाबी गरेका छन्। २५ साउन, काठमाडौंमा जारी संवादमा लिङ्देनले पार्टी भित्रका समस्या र असन्तुष्ट पक्षलाई समितिहरूमार्फत समाधान गर्ने प्रक्रिया अघि बढाउने बताए। उनले पार्टीभित्र असहमति भए महाधिवेशनमार्फत नेतृत्वमाथि चुनौती दिन सकिने पनि बताएका छन्।

उनले विगतमा पार्टी फुटाउने प्रवृत्ति रहेको उल्लेख गर्दै भने, “जो चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाउने प्रवृत्ति थियो, त्यो अब अन्त्य भएको छ। अब राप्रपा कहिल्यै विभाजित हुँदैन।” लिङ्देनले पार्टीलाई समान विचारधारा भएका व्यक्तिहरूको संगठित संस्था भएको भन्दै, “चित्त नबुझेका विषयलाई कमिटीमा छलफल गरेर टुंगो लगाउनु पर्छ, त्यसपछि सबैले निष्कर्षलाई मान्नु पर्छ। यदि पारित हुन सकेन भने महाधिवेशनमार्फत अन्तिम निर्णय हुन्छ,” भने।

असन्तुष्ट पक्षले पार्टी विधान विपरित काम गरिरहेको आरोप लगाउँदै उनले भने, “पार्टी विधानअनुसार अध्यक्षलाई समितिहरू गठन गर्ने, जिम्मेवारी तोक्ने अधिकार छ। हामी विधानअनुसार काम गरिरहेका छौं।” फरक प्रसंगमा लिङ्देनले नेपाल जस्तो भूराजनीतिक चुनौती भएको देशका लागि राजसंस्था अभिभावकीय संस्थाको रूपमा उपयुक्त हुने तर्क गर्दै, राप्रपाले निरन्तर राजसंस्थाको समर्थन गर्दै आएको बताएका छन्। उनले पछिल्लो दिनहरूमा राजसंस्थाको माहोल पनि सकारात्मक बन्दै गएको बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *