काठमाडौं । संसदीय मर्यादा, नियम र प्रक्रियाले कुनै पनि लोकतान्त्रिक मुलुकमा सत्ता र प्रतिपक्ष दुवैको आचरण निर्धारण गर्छ। तर पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले प्रतिनिधिसभालाई राजनीतिक रंगमञ्च बनाउँदै आफ्नो सन्देश ‘नाटकीय शैली’मा प्रस्तुत गरिरहेका छन्। नीलो रिबन भिरेर संसदमा प्रवेश गर्नु उनीहरूको प्रतिकात्मक प्रदर्शनको भाग हो, तर यसको सन्देशभन्दा पनि शैली र समयचयनले अहिले प्रश्न उठाइरहेको छ। उक्त विषयमा सत्तारुढ दलहरुले संसदीय मर्यादाविपरित संसदमा प्रवेश गरेको भन्दै आलोचनामा उर्तिएका छन् । रास्वपाको यस्तो अभियानले रास्वपालाई सांसद र अभियान्ता छुट्याउन गाह्रो भएको भन्दै सांसदहरुले आलोचना गर्न थालेका हुन् ।
मानव तस्करीविरुद्धको ऐक्यबद्धता जनाउँदै निलो रिबन लगाउनु स्वभाविक रूपमा एउटा सकारात्मक सन्देश बोकेको कदम हो। तर सांसदहरूले उक्त रिबन भिरेको दिन, समय र पृष्ठभूमि हेर्दा— यो अभियान प्रतीकात्मक भन्दा पनि राजनीतिक रूपले डाइभर्शन सिर्जना गर्ने प्रयासझैं देखिएको छ। रास्वपा अध्यक्ष रवि लामिछाने स्वयं सहकारी ठगी प्रकरणमा आलोचित छन्। पार्टीले संस्थागत रूपमा उक्त मुद्दा सामना गर्नुको सट्टा संसदमा नाराबाजी र प्रदर्शनमा उत्रिएको छ। यसले मूल मुद्दाबाट ध्यान मोड्ने रणनीतिको संकेत गर्छ।
संसदमा बजेटमाथिको छलफल जारी रहँदा रास्वपाले ‘सहमति नभएको’ भन्दै संसद अवरोध गर्न खोज्नु आफैंमा विवादास्पद छ। खासगरी संसदले भिजिट भिषा प्रकरणमा छानबिन समिति गठन गर्नेसम्म सहमति जनाइसकेको सन्दर्भमा—रास्वपाको चर्को नाराबाजी ‘राजनीतिक प्रतिशोध’को रूपमा हेरिएको छ। सांसदहरूको नारा, घोचपेच र मर्यादाविपरित अभिव्यक्तिले प्रतिनिधिसभाको गरिमा नै चुनौतीमा परेको छ। संसदको प्रयोग संवाद, बहस र नीति निर्माणका लागि हो—आक्रोश र प्रतिशोधका लागि होइन।
रास्वपाले जनताबाट स्वतन्त्र र वैकल्पिक शक्ति भएर आएको दाबी गर्दै आएको थियो। तर पछिल्लो व्यवहारले उही पुरानै शैलीको राजनीति दोहोर्याउने संकेत दिएको छ। जनताले निलो रिबन होइन, स्पष्ट उत्तर र जवाफदेही राजनीति खोजिरहेका छन्। यस्तो बेला रास्वपाले संसदलाई सजग र जिम्मेवार भूमिका खेल्ने थलोको रूपमा व्यवहार गर्नुको सट्टा, ‘स्टेज’को रूपमा प्रयोग गर्न थालेपछि चौतर्फी आलोचना हुनु स्वाभाविक छ।
सांसदहरूले नीलो रिबन लगाउनु, मानव तस्करीजस्तो गम्भीर विषय उठाउनु अस्वाभाविक होइन। तर यस्तो कदमलाई व्यक्तिगत मुद्दा ओझेलमा पार्ने प्रयोजनका लागि प्रयोग गर्नु घातक हुन्छ। लोकतन्त्रको मर्म ‘संवेदनशील मुद्दा’मा तथ्य र प्रमाणका आधारमा बहस गर्नुपर्ने हो । तर रास्वपाले सस्तो लोकप्रियताको खोजीमा संसदको दुरुपयोग गर्दै आएका छन् ।
अबको आवश्यकता छ—संयमित व्यवहार, मुद्दामाथि गम्भीर बहस र राजनीति–प्रति जनताको गहिरो भरोसा कायम राख्ने संस्कृतिको विकास गरी पराना राजनैतिक परिपक्वता भएका दलहरुसँग सहकार्य गरेर अगाडी बढ्नुपर्ने बाटो रोज्नुको विकल्प छैन् । रास्वपाले सामाजिक संजाल फेसबुकमा सर्वेक्षेण भन्दै अपरिपक्व, अवैज्ञानिक पक्षलाई आधार मानेर कमेन्ट, लाइक र भ्यूजको आधारमा संसदमा नाराबाजी गर्नु अनैतिक व्यवहार भएको सत्तारुढ दलहरुले टिप्पणी गर्न थालेका छन् ।
गत जेठ १३ गतेदेखि गृहमन्त्री रमेश लेखकले भिजिट भिषा प्रकरणमा त्रिभुवन अध्यागमन विभागका कर्मचारीहरुमाथि अनुसन्धान अगाडी बढाएपछि रास्वपा ,राप्रपा लगाएतका दलहरुले संसदमा अवरोध जनाउँदै बन्धक बनाएका थिए । तर पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारसँग दुई बुँदे सहमति गरेर संसद खुलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे । अहिले रास्वपाले आइतबार ,सोमबारको बैठकमा पनि रास्वपा र राप्रपाले संसदमा नाराबाजी गर्दै अवरोध जनाएपछि मंगलबार प्रचण्डले संसद खुलाउने जिम्मेवारी सत्तापक्षको मात्र नभई प्रतिपक्षको पनि भूमिका महत्वपूर्ण भएको बताए ।
प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताए । दाहालले भने, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरुले पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ ।” संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ । अध्यक्ष प्रचण्डले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।
तर मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपा र राप्रपाले सोही विषय अपनाउँदै संसदमा अवरोध खडा गरेपछि प्रतिनिधिसभा बैठक आघा घण्टा सम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्ने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
रास्वपाका सांसदहरूले जथाभावी ड्रेस लगाएर संसद् भवन प्रवेश गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसले कारबाही गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए । प्रतिनिधिसभा बैठकमा निलो रिबन लगाएर प्रवेश गरेका रास्वपा सांसदहरूलाई चेतावनी र संसद्ंबाट निष्कासन समेत हुनसक्ने नियमावली सम्झाउँदै कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले ध्यानाकर्षण गराएका हुन् । यो संसद्मा मर्यादित पोशाकमा आउनुपर्छ भनिएको छ । यो नियमावलीमा गरिएको व्यवस्था हो । यो संसद्मा केही माननीय सदस्यले जुन स्कार्फ लगाउँदै आउनुभएको छ, यो मर्यादित पोशाकभित्र पर्छ कि पर्दैन ?,’ घिमिरेले भने ।




