काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् अवरुद्ध राख्ने निर्णय नेकपा ९माओवादी केन्द्र० ले गरेको छ।
सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा पार्टी सांसदहरूले सरकारको चालू वर्षको बजेट र भिजिट भिसा प्रकरणमा भएको विवादबारे गम्भीर छलफल गरेका थिए। बैठकपछि सांसद माधव सापकोटाले भने, “गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् सञ्चालनमा सहभागी नहुने निर्णय भएको छ।”
त्यस्तै, बैठकमा आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाइएको छ। माओवादी केन्द्रका अनुसार बजेटले श्रमजीवी, किसान, दलित, मधेशी, आदिवासी जनजाति जस्ता आधारभूत वर्गको पक्षमा खासै प्रगति गर्न नसकेको निष्कर्ष निकालिएको छ। सांसदहरूसँग बजेटबारे अन्तरक्रिया गर्न अर्थशास्त्री तथा पार्टीका विज्ञ मीनबहादुर श्रेष्ठ, रामकुमार फुयाँल, रामनारायण विडारी, डीपी ढकाललगायत सहभागी थिए।
संसद् सञ्चालनबारे प्रमुख दलबीच छलफल भइरहँदा माओवादी केन्द्रको कडा अडानले सत्ता–विपक्षीबीचको सहकार्य अझै पेचिलो बन्ने संकेत देखिएको छ।




