राजनीति

लुटेरा निर्वाचन प्रणालीको अन्त्य हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले करोडौँ खर्च गर्नुपर्ने विद्यमान निर्वाचन प्रणालीको आलोचना गर्दै यस्तो लुटेरा प्रणाली आवश्यक नभएको बताएका छन्।

सोमबार सुर्खेतमा आयोजित वाइसीएल कर्णाली प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले आम नागरिकको सहभागिता र पहुँचलाई अवरुद्ध गरेको आरोप लगाए। उनले भने, करोडौँ खर्च गरेर मात्र चुनाव जित्न सकिने यो लुटेरा प्रणाली हामीलाई चाहिँदैन। दलित, उत्पीडित, आदिवासी, महिला सबैले खर्च नगरी चुनाव लड्न सक्ने प्रणाली आवश्यक छ।

प्रचण्डले संविधान संशोधनको विरोध गर्ने प्रतिगामी शक्तिहरूसँग अब कडा टसल हुने चेतावनी समेत दिए। उनले आदिवासी, दलित, उत्पीडित, महिला लगायत सबै वर्गलाई सचेत र संगठित रहन आह्वान गरे।

सम्बोधनका क्रममा उनले आफ्नो नेतृत्वको सरकारले ल्याएको विशेष प्याकेजलाई केपी ओली सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गरे। साथै, जेठ १५ गते गणतन्त्र दिवसको दिन राजावादीहरूले गर्ने विरोधलाई प्रतिकार गर्न वाइसीएललगायत सबैलाई संगठित हुन आग्रह गरे।

ूतथाकथित पूर्वपञ्चहरू मिलेर आन्दोलनको धम्की दिइरहेका छन्, प्रचण्डले भने, राजाको हत्या हुँदा समेत आवाज निकाल्न नसक्ने कायरहरूले अहिले गणतन्त्रको विरोध गर्दैछन्। उनले मुठीभरका दलाल पुँजीपतिले अर्थतन्त्र कब्जा गरेको र भू–माफियाले व्यक्तिको नाममा जग्गा दर्ता गरी ब्रहलुट मच्चाएको आरोप लगाए। प्रचण्डले यी शक्तिहरूले षड्यन्त्र गरेर आफ्नो सरकार ढालेको दाबी पनि गरे। हामीलाई लुटेरा प्रणाली होइन, न्यायपूर्ण निर्वाचन चाहिन्छ, उनले थपे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *