काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीले तराई–मधेस जागरण अभियान’लाई नयाँ वर्ष २०८२ को पहिलो दिनबाट पुनः सक्रिय बनाएको छ। हुलाकी लोकमार्गलाई केन्द्रीय धावनमार्ग बनाएर अघि बढाइएको अभियानमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरू नवलपुरको गैँडाकोटमा पुगेका छन्।
पार्टी अध्यक्ष प्रचण्डसहित पुगेको टोलीलाई स्थानीय कार्यकर्ताहरूले गैँडाकोटमा स्वागत गरेका थिए। अभियान अन्तर्गत प्रचण्डलगायत नेताहरूले आज र भोलि नवलपुरका विभिन्न स्थानमा स्थानीय जनताको साथमा विभिन्न कार्यक्रमहरू गर्नेछन्।
झापाबाट सुरु, कञ्चनपुरसम्मको यात्रा
फागुन १२ गते झापाको कचनकवलबाट सुरुवात गरिएको यो अभियानलाई माओवादी केन्द्रले चरणबद्ध रूपमा अघि बढाउँदै आएको हो। केही समय विश्रामपछि पुनः तीव्रता दिइएको अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ।
पार्टीका अनुसार यो अभियानले जनतासँग पुनः घनिष्ठ सम्बन्ध बनाएको, जनचेतना फैलाएको र संगठन सुदृढ पार्न टेवा दिएको छ। माओवादीका उपमहासचिवस्तरका नेताहरूसमेत अभियानमा सक्रिय सहभागिता जनाइरहेका छन्।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि आजबाट अभियानमा सहभागी भएका छन्। पार्टीको पछिल्लो पदाधिकारी बैठकबाट उनलाई उपाध्यक्षमा मनोनीत गरिएसँगै उनी अभियानमा अध्यक्ष प्रचण्डसँगै सक्रिय रूपमा देखा परेका हुन्। यसअघि बैठकहरूमा देखिए पनि पुनलाई कुनै औपचारिक जिम्मेवारी नतोकिएकाले उनी अभियानमा सहभागी थिएनन्। अब भने प्रचण्ड नेतृत्वको टोलीसँगै उनले अभियानमा पूर्ण सक्रियता जनाएका छन्।
माओवादी केन्द्रले यो जागरण अभियानलाई पार्टी र जनताको सम्बन्ध पुनः बलियो बनाउने, संगठन विस्तार गर्ने र जनताबीच राजनीतिक सचेतना अभिवृद्धि गर्ने मुख्य उद्देश्यका साथ अघि बढाएको हो। पार्टीका नेताहरूले अभियानले तराई(मधेस क्षेत्रमा जनतासँग संवाद र सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्। आगामी चरणमा अभियानलाई अझ व्यापक बनाउँदै सुदूरपश्चिमसम्म पुर्याउने तयारी भइरहेको छ।




