बागमती प्रदेश

‘सहरलाई विकसित र समृद्ध बनाउन दुई देशबीचको असल अभ्यास आदानप्रदान महत्त्वपूर्ण’

काठमाडौं । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सहरलाई विकसित र समृद्ध बनाउन दुई देशबीचको असल अभ्यासहरुको आदानप्रदान महत्वपूर्ण हुने बताएका छन् ।

नेपाल र चीनको दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेकोे उपलक्ष्यमा चीनको हाङजोउ सहरमा आयोजित नेपाली उत्पादनको प्रदर्शनीलाई सम्बोधन गर्दै महानगर प्रमुख महर्जनले पूर्वाधार विकास र सहरीकरणको सम्बन्धमा एकअर्काको ज्ञान, सीप र कलाको आदानप्रदानमा माध्यमबाट पर्यावरणमैत्री सहर निर्माणमा महत्वपूर्ण काम गर्न सकिने विश्वास व्यक्त गरे

“ललितपुर महानगर कला, संस्कृति र सम्पदाले सम्पन्न नगर हो, नेपाललाई अन्तरराष्ट्रियस्तर परिचित बनाउन कला, संस्कृति र सम्पदा पर्याप्त छ, यसको ऐतिहासिक पक्ष, पुरातात्विक महत्वको उजागर गर्दै हामीले पर्यटकलाई आकर्षित गर्न सक्छौँ, चाइना पनि तीव्र विकासको गतिमा अगाडि बढेको देश हो, नेपाल र चीनका दुई सहरबीच सामाजिक सद्भाव, आत्मियताका माध्यमबाट हामी समृद्धि हासिल गर्न सक्छौँ”, प्रमुख महर्जनले भने ।
उनले बुद्ध र अरनिको जन्मस्थल नेपालबाट चीनका जनताका लागि शुभेच्छा र आशीर्वादसहित आफ्नो प्रतिनिधिमण्डल चीन आएको बताउँदै चीनका जनतालाई ललितपुरको कला, सम्पदा र संस्कृतिको अवलोकन गर्न निम्तो दिए ।

हाङजोउ सहरका उपप्रमुख वई छ्याङगले बुद्धिजम, कला र संस्कृतिले नेपाल र चीनको सम्बन्धलाई बलियो बनाएको बताए । सामाजिक, सांस्कृतिक र आर्थिक सहयोग आदानप्रदानका लागि यो प्रदर्शनी महत्वपूर्ण आधार भएको उनको भनाइ थियो ।

उनले कला संस्कृति र सम्पदाको सहर ललितपुरका प्रमुख चिरीबाबु महर्जनलाई आफ्नो सहरमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले यो प्रदर्शनी नेपाल र चीनको जनताबीच सम्बन्ध स्थापित गर्ने, सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भएको बताए ।

चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओलीले यो कार्यक्रम नेपालको समृद्धि कला, संस्कृति र उत्पादनलाई परिचित गराउने महत्वपूर्ण माध्यम भएको बताए । उक्त प्रदर्शनीका निर्देशक वाङ मिनछ्याङले यो कार्यक्रमले दुई सहरबीचको सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।

प्रदर्शनीमा सहभागी हुन ललितपुर महानगर प्रमुख महर्जन शुक्रबार आफ्नो प्रतिनिधिमण्डलसहित चीन प्रस्थान गरेका थिए । प्रतिनिधिमण्डलमा वडा नं ६ का वडाध्यक्ष रुपेन्द्रराज शाक्यलगायत छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *