काठमाडौं । काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको घटनाबारे राप्रपा नेपालले गम्भीर आपत्ति जनाउँदै उक्त घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घटनामा सरकारकै संलग्नता रहेको आशंका व्यक्त गर्दै पाँच बुँदे निर्णय सार्वजनिक गरेको हो।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार, “घटनालाई अराजक र हिंसात्मक बनाउने काम सरकारकै योजनाबद्ध षड्यन्त्र हो भन्ने ठोस संकेतहरू देखिन्छन्।”
राप्रपा नेपालका पाँच मुख्य माग
ः
१. उच्चस्तरीय न्यायिक आयोग गठन — तीनकुने घटनामा भएको गोलीकाण्ड, सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु, म्याद गुज्रिएका टियर ग्यासको प्रयोग, लुटपाट, आगजनी र प्रशासनिक दमनबारे निष्पक्ष छानबिन गर्न आयोग गठनको माग।
२. शान्तिपूर्ण नेताहरूको रिहाइ — सोही घटनामा अराजक गतिविधिमा संलग्न नभई भिडलाई संयमित गर्न आग्रह गरिरहेका राप्रपा नेपालका नेताहरू डा। धवलशमशेर राणा, रवीन्द्र मिश्र, पशुपति खड्का लगायतमाथि झुटा मुद्दा लगाई थुनामा राखिएको भन्दै तत्काल रिहाइको माग।
३. संयुक्त जनआन्दोलनमा समर्थन — हिन्दू राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै गठित ‘संयुक्त जनआन्दोलन’ समितिलाई पूर्ण समर्थन गर्ने निर्णय। डा. जगमान गुरुङको संयोजकत्वमा बनेको समितिले गर्ने सबै आन्दोलनमा राप्रपा नेपालको सहभागिता रहने बताइएको छ।
४. विचारको संरक्षणका लागि एकता — राष्ट्र, धर्म, राजसंस्था र प्रजातान्त्रिक मूल्यविरुद्ध भइरहेको योजनाबद्ध बदनाम अभियानको विरोध गर्दै त्यसविरुद्ध उभिन राष्ट्रवादी, हिन्दूवादी र राजावादी शक्तिहरूलाई एकताबद्ध हुन राप्रपाको अपिल।
५. ‘प्रतिबद्धता सभा’ सफल पार्ने तयारी — चैत २७ गते आयोजना हुन लागेको ‘संयुक्त जनआन्दोलन’ समितिको प्रतिबद्धता सभालाई सफल बनाउन राप्रपा नेपालले सक्रिय सहयोग गर्ने र सबै राष्ट्रवादी नागरिकहरूलाई सहभागिताको आह्वान।




