मुख्य समाचार

समाजवादीले बनायो बाबुरामको नेतृत्वमा एकता समायोजन समिति

काठमाडौं ।नेपाल समाजवादी पार्टीले नेकपा माओवादी केन्द्रसँग एकता/ ध्रुवीकरण गर्न संयोजन समिति गठन गरेको छ।

काठमाडौंमा आज बसेको नेपाल समाजवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी अध्यक्षद्वय डा. बाबुराम भट्टराईको अध्यक्षतामा समिति गठन गरेको हो।
समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब, महासचिव रमेशप्रसाद यादव र कार्यकारिणी सदस्य जनकराज शाह छन्।

पार्टी एकता/ ध्रुवीकरण संयोजन समितिले बृहत् समाजवादी केन्द्र निर्माणका लागि माओवादी केन्द्रलगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता/ ध्रुवीकरण गर्दै जाने बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्‍याउने, सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने निर्णय पनि गरेको छ।

यस्तै, मंसिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने तथा आगामी वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय बैठकले गरेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *