काठमाडौं । नेकपा माओवादीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा चलेको १० वर्षे जनयुद्धका घाइते पूर्वमाओवादी लडाकुहरुले सरकारले आफ्ना समस्या समाधान नगरे सामूहिक आत्मदाह गर्ने चेतावनी दिएका छन् ।
द्धोन्द्ध कालका पूर्वमाओवादी लडाकुहरुले आइतबार उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटेर आफ्ना मागहरु सम्बोधन नभए सामुहिक आत्मदाह गर्ने चेतावनी दिएका ह्ुन् ।
जनयुद्धका घाइतेको उच्चस्तरीय औषधोपचारको व्यवस्था गर्नुपर्ने, जीवन निर्वाह गर्न तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, पूर्वलडाकूको कार्यदलमा नाम नभएकाको तत्काल सूचीकृत गरेर समावेश गर्नुपर्ने माग अछाम स्थायी घर भएका पूर्वलडाकु एवं घाइते धीरेन्द्र भण्डारीले गृहमन्त्री समक्ष माग राखेका छन् ।
घाइते तथा अपांगता भएका व्यक्तिका छोराछोरीलाई उच्च शिक्षासम्म निःशुल्क व्यवस्था गर्नुपर्ने, जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिको निधन भएपछि सहिद घोषणा गर्नुपर्ने र जनयुद्धका नक्कली तथा सक्कली घाइते र अपांगता भएका व्यक्तिको पहिचान गरेर आवश्यक कारबाही गर्नुपर्ने पूर्व माओवादी लडाकुहरुको माग रहेको छ ।
पूर्वलडाकु एवं घाइते वीरबहादुर बुढाले चार महिनादेखि आफ्ना समस्या समाधान गर्न सरकारलाई अनुरोध गरेपनि सरकाले अहिलेसम्म कुनै उत्तर नै दिएका छैनन् ल। त्यसैले लडाकुका आँखाबाट आँसु झर्न छोडेका छैनन् ।
आफू जनयुद्धको घाइते भएर पनि राज्यले उपचार नगर्दा घरजग्गा बेचिसक्दा पनि उपचार पूरा हुन नसकेको कारण अहिले डिप्रेसनको औषधि सेवन गरिरहेको पूर्वलडाकु तथा घाइते शंकर पौडेलको गुनासो रहेको छ । जिल्ला प्रशासन कार्यालयमार्फत दुई वर्षअघि आफ्नो नाम जनयुद्धको घाइतेको रुपमा गए पनि गृह मन्त्रालयमा पुग्दा आफ्नो नाम गायब भएको उनले गुनासो छ ।
पूर्वलडाकु एवं घाइते नरवीर दमाईले नक्कली घाइते र अपांगता भएका व्यक्तिले जीवन निर्वाहभत्ता तथा उपचार सुविधा पाइरहेको देख्दा जीवनदेखि नै आजित भइ सिंहदरबार दक्षिणी गेट अगाडि दुई पटक आत्मदाहको प्रयास गरेको सुनाए ।पार्टी, नेता र सरकारको सिफारिसमा घाइते केही पनि नभएका व्यक्ति घाइते तथा अपांगता भएको सूचीमा परेकाले नेपाल प्रहरीमार्फत घाइते तथा अपांगता भएकाको पुनरावलोकन तथा अनुसन्धान गर्न गृहमन्त्री श्रेष्ठसँग माग गरे ।




