काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता स्वार्थबाहेक अरू कुनै उद्देश्य र गन्तव्य नभएको गठबन्धनसँग एमालेले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्ने बताएका छन् ।
नेकपा एमाले लुम्विनी प्रदेश सम्पर्क कमिटी र सुदुूरपश्चिम प्रदेश सम्पर्क कमिटीका शनिवार गरेका छुट्टाछुट्टै भेला तथा प्रशिक्षणमा महासचिव पोखरेलले स्थानीय निर्वाचनको परिणामले एमाले एक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य राख्ने बताएका हुन् ।
उनले भने,‘जहाँ गठबन्धनसँग एमालेले एक्लै प्रतिस्पर्धा गर्यो, त्यहाँ सबैभन्दा बढी ४१ प्रतिशत मत प्राप्त भयो । आंशिक गठबन्ध भएका ठाउँमा ३१ प्रतिशत र गठबन्धन नभएका ठाउँमा २५ प्रतिशत मत प्राप्त भएको छ । यसबाट गठबन्धनका उम्मेदवारलाई भन्दा हामीलाई जनताले विश्वास गरेको देखिन्छ ।’
महासचिव पोखरेलले एमालेलाई ३४ प्रतिशत, माओवादीलाई १२ प्रतिशत र एकीकृत समाजवादीलाई करिव चार प्रतिशत मत दिएर जनताले बामपन्थी मत खेर नफाल्ने हो भने एमालेको पक्षमा मतदान गर्नुपर्छ भन्ने सन्देश दिएको समेत दाबी गरे ।




