काठमाडौं । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पामा दुर्घटनामा परेको छ । गुल्मीको मजुवाबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटनामा परेको हो । दुर्घटनाबाट बसमा सवार ६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
सर्वोच्च अदालतले कमल थापा नेतृत्वको राप्रपा नेपाललाई गाई चुनाव चिन्ह दिन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार चुँडालको संयुक्त इजलासले कमल थापाले गरेकै मागअनुसारको चुनाव चिन्ह दिन आदेश दिएको हो ।
पछिल्लोपटक जसपाको कारबाहीमा परेर पार्टीविहिन बनेका पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई समूहको पार्टीको नाम नेपाल समाजवादी रहने भएको छ । चुनाव चिह्न आँखा राख्दै नेपाल समाजवादी नामको दलका खोल्ने तयारी भएको हो । आँखा चुनाव चिह्न भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीको थियो ।
पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिले गत जेठ १४ गतेको सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ ।समितिको आइतबार बसेको बैठकले सिंहदरवारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो ।
नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । प्रतिस्पर्धी अनिता विन्दुलाई पराजित गर्दै लम्सालले नेतृत्व हात परेका हुन् । युनियनको वरिष्ठ उपाध्यक्ष र महासचिवमा पनि लम्साल प्यानलकै प्रेस केसी र दिलिप पौडेल विजयी भएका छन् ।
प्रतिनिधिसभाले कारागार विधेयक पारित गरेको छ । नयाँ विधेयकले बन्दीको प्रजनन अधिकारको संरक्षण गरेको छ । कारागारमा बन्दीका रूपमा रहेका वैध दम्पतीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिएबमोजिम भेटघाट गर्ने अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ । विधेयकमा प्रजनन अधिकार संरक्षणसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने प्रावधान छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वामपन्थीहरू एक भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले विचारमा नजिक भएका दलहरूबीच एकता गर्ने नभए समाजवादी मोर्चा बनाउने वा चुनावी तालमेल गरेर अघि बढ्नुपर्ने बताएका छन् । त्यसो गरे मात्रै बाटो सही हुने उनको भनाइ छ ।
भारतको पञ्जाब राज्यमा विद्युत उपभोक्तालाई ३ सय युनिट बिजुली निःशुल्क उपलब्ध गराउने अधिसूचना जारी गरिएको छ । पञ्जाब स्टेट पावर कर्पोरेशन लिमिटेडले शनिबार एक सूचना जारी गर्दै विद्युत उपभोक्तालाई मासिक ३०० युनिट बिजुली उपलब्ध गराउने घोषणा गरेको छ ।




