भक्तपुर । भक्तपुरको चार स्थानीय तहमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिने ७९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
नेपाली कांग्रेससहितको गठबन्धन, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट उम्मेदवारी दिएका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य र महिला सदस्य गरी कूल ७९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
चाँगुनारायण नगरपालिकामा प्रमुखका उम्मेदवार दुई, उपप्रमुख एक, वडाध्यक्ष आठ, वडासदस्य नौ र महिला सदस्य दुई गरी २२ जना, भक्तपुर नगरपालिकामा वडाध्यक्ष सात र वडा सदस्य आठ गरी १५ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
त्यस्तै मध्यपुरथिमि नगरपालिकामा नगरप्रमुख एक, उपप्रमुख दुई, वडाध्यक्ष १३, वडा सदस्य चार र महिला सदस्य दुई गरी २२ जना र सूर्यविनायक नगरपालिकामा प्रमुखमा दुई, विभिन्न वडामा वडाध्यक्षमा ११, वडा सदस्य पाँच, महिला सदस्य एक र दलित महिला सदस्य एक गरी २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।




