मुख्य समाचार

अदालतमा देखिएको समस्या समाधानमा सबै पक्ष मिलेर जानुपर्ने नेकपा एकिकृतको निर्णय

काठमाडौं । नेकपा एकिकृत समाजवादीले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दल र न्याय क्षेत्रका सरोकारवाला पक्षहरूबीच एकीकृत अवधारणा बनाउन अपिल गरेको छ ।

नेकपा एकिकृत समाजवादीको केन्द्रीय कमिटिको बैठकले अदालतमा देखिएको समस्याले शक्ति पृथकीकरणको सिद्धान्त खलबलिने स्थितिमा पुगेको निष्कर्ष निकालेको छ । समस्या समाधानका निम्ति सबै राजनीतिक दल र न्याय क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूको एकीकृत अवधारणा बनाउन अपिल गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

बैठकको निर्णयबारे जानकारी दिँदै उनले भने,‘कानुन क्षेत्रका विद्धान अधिवक्ताहरू, उनीहरूका सङ्गठन र नागरिक समाजका अगुवाहरू, न्यायिक सर्वोच्चताको पक्षमा आन्दोलित छन् । न्याय क्षेत्रको विद्यमान अवस्था र सङ्कटप्रति यो बैठकको गम्भीर ध्यानाकर्षण भएको छ । यो सङ्कट समाधानका लागि राजनीतिक दल, न्याय क्षेत्रका सरोकारवाला पक्षहरूबीच एकीकृत अवधारणा बनाउन यो बैठक अपिल गर्दछ ।’

नेकपा एकिकृत समाजवादीको केन्द्रीय कमिटि बैठकले पाँचदलीय गठबन्धनलाई चुनावसम्म लैजाने विषयमा समेत पहल गर्ने सहमति जुटाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *