काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले नापी तथा मालपोतसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउने सरकारको योजनालाई समयमै कार्यान्वयन गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएकी छन् ।
सरकारले एक महिनाभित्र स्थानीय तहबाटै यी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएकाले त्यसअनुसार जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार र आवश्यक प्रशासनिक तयारी तत्काल अघि बढाउन उनले निर्देशन दिएकी हुन् ।
जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित भूमि समस्या समाधान समितिको कार्यप्रगति समीक्षा तथा नापी र मालपोत सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने तयारीसम्बन्धी छलफलमा मन्त्री रावलले नागरिकलाई सामान्य सरकारी कामका लागि जिल्ला सदरमुकामसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताइन् ।
सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्याउनु सरकारको प्राथमिकता भएको उल्लेख गर्दै उनले स्थानीय तहमै सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने वातावरण बनाउन कर्मचारीलाई आग्रह गरिन् ।
मन्त्री रावलले दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई तोकिएको समयभित्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्ने गरी काम अघि बढाउन भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन् ।
भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्नुपर्ने उनको भनाइ थियो । सेवा प्रवाहमा कुनै पनि बहानामा ढिलासुस्ती नगर्न निर्देशन दिँदै उनले सुशासन र पारदर्शिताको सवालमा सरकार सम्झौता नगर्ने स्पष्ट पारिन् ।
सार्वजनिक सेवालाई नागरिकमैत्री बनाउन कर्मचारी प्रशासन थप जिम्मेवार हुनुपर्नेमा जोड दिँदै मन्त्री रावलले सरकारी योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच समन्वय आवश्यक रहेको बताइन् ।
छलफलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुख, जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, नापी तथा भूमि प्रशासन कार्यालयका प्रमुख र भूमि समस्या समाधान समितिका पदाधिकारीहरूको सहभागिता थियो ।




