सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानप्रदत्त अधिकार क्षेत्रभित्र रहेर प्रदेश सरकारले आवश्यक ऐन तथा कानुन निर्माण गरिएको बताएका छन् ।
राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले तीन तहका सरकारका ऐन कानुन कार्यान्वयनका सन्दर्भमा आज धनगढीमा आयोजना गरेको कार्यक्रममा उनले प्रदेशको क्षेत्राधिकारमै रही हालसम्म ६३ वटा ऐन निर्माण भइसकेका तथा केही निर्माणको प्रक्रियामा रहेको जानकारी दिए ।
मुख्यमन्त्री भट्टले प्रदेश सरकार स्थानीय तह तथा संघीय सरकारसँग समन्वय र सहकार्य गर्दै अघि बढिरहेको उल्लेख गरे । उनले संविधानले व्यवस्था गरेको अधिकार कार्यान्वयनका लागि सबैलाई विश्वासमा लिएर कानुन निर्माण र कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताए ।
मुख्यमन्त्री भट्टले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले साझा अधिकारका कतिपय विषय कार्यान्वयन गर्न केन्द्र सरकारको महत्त्वपूर्ण भूमिका रहेकाले त्यसमा संघीय संसद्ले सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याए ।




