देश

आशा र भरोसाको केन्द्र बन्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

राँझा (बाँके)। स्तन क्यान्सर पहिचान भएपछि निरास हुनुभएका नेपालन्ज उपमहानगरपालिका–२१ निवासी डिगम्बर देवसिंह राना खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सफल उपचारपछि अहिले सामान्य जीवनयापन गरिरहनुभएको छ ।

दुई वर्षअघि शल्यक्रिया गर्नुभएका रानाले नियमित रूपमा किमोथेरापी र भित्री सेकाई (ब्रेकीथेरापी) गरेपश्चात् अहिले सामान्य अवस्थामा फर्किनुभएको छ । क्यान्सरजस्तो प्राणघातक रोगको घरनजिकै रहेको अस्पतालबाट उपचार सेवा पाउँदा उहाँलाई ठूलो राहत मिलेको छ ।

“चितवन वा काठमाडौँ जानुपरेको भए धेरै दुःख र आर्थिक नोक्सानी हुने थियो, यहाँ घरबाटै आउनेजाने गरेर सजिलैसँग उपचार पाइयो”, रानाले भन्नुभयो, “यो अस्पताल सञ्चालनमा आएपछि मजस्ता हजारौँ नागरिकलाई सजिलो भएको छ ।”

अस्पतालका सूचना अधिकारी डा प्रवीणकुमार गुप्ताका अनुसार नयाँ प्रविधि र विशेषज्ञ चिकित्सकको टोलीमार्फत क्यान्सरका बिरामीलाई आवश्यक सबैखाले उपचार खजुरामै सम्भव भएपछि पश्चिम नेपालका नागरिकको समय र पैसा दुवै बचत भएको छ । यसले सर्वसाधारणलाई आर्थिक र मानसिक दुवै हिसाबले ठूलो राहत मिलेको छ ।

अस्पतालले क्यान्सरसम्बन्धी अत्याधुनिक विशेषज्ञ सेवा निरन्तर विस्तार गरेसँगै यहाँ बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । पहिलेपहिले क्यान्सर उपचारका लागि काठमाडौँ वा चितवन धाउनुपर्ने बाध्यतामा रहेका पश्चिम नेपालका क्यान्सरपीडितका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आशा र भरोसाको केन्द्र बन्दै गएको उहाँको भनाइ छ ।

अस्पतालमा हाल अत्याधुनिक उपकरणसहितका आइसीयू, इमर्जेन्सी, शल्यक्रिया, किमोथेरापी, ब्रेकीथेरापी, सिटीस्क्यान, म्यामोग्राफी, भिडियो एक्स–रे तथा रेडियोथेरापीजस्ता महत्त्वपूर्ण सेवा उपलब्ध छ ।

ब्रेकीथेरापी मेसिन जडान गरेर शल्यक्रियाको समेत दायरा फराकिलो पारिएपछि यहाँ आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । प्राविधिक समस्याका कारण केही समय प्रभावित बनेको रेडियोथेरापी सेवा पुनः सुरु भएको सूचना अधिकारी गुप्ताले बताउनुभयो ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका क्यान्सरका बिरामीलाई लक्षितगरी बाँकेको खजुरा गाउँपालिका–७ मा सञ्चालित पश्चिम नेपालकै प्रमुख क्यान्सर उपचार केन्द्रका रूपमा स्थापित भइरहेको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा मुकेश यादवले जानकारी दिनुभयो ।

अस्पतालमा गम्भीर बिरामीका लागि अत्याधुनिक सघन उपचारकक्ष (आइसीयू), निरन्तर निगरानी र भेन्टिलेटर सुविधा उपलब्ध छ । त्यसैगरी, आकस्मिक बिरामीका लागि २४सै घण्टा इमर्जेन्सी, डेकेयर, शल्यक्रिया, रक्तसञ्चार, इसिजी तथा इको सेवा सञ्चालनमा छन् । यस्तै, २४सै घण्टा फार्मेसी, प्रयोगशाला, एक्स–रे र एम्बुलेन्स सेवा उपलब्ध गराएर अस्पतालले बिरामीलाई एकीकृत सेवा प्रदान गर्दै आएको डा यादवले बताउनुभयो ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल स्थापना र विकासको इतिहास प्रेरणादायी छ । सुरुमा स्थानीयस्तरको पहलमा ‘नेपाल क्यान्सर अस्पताल’का रूपमा अघि बढाइएको यस अस्पताललाई २०७३ फागुन १५ गते गठन आदेशमार्फत सुशील कोइराला प्रखर क्यान्सर अस्पताल नामकरण गरिएको हो ।

विसं २०७४ असार ११ गते तत्कालीन स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट बहिरङ्ग (ओपिडी) सेवाको उद्घाटन भएसँगै अस्पतालमा औपचारिक स्वास्थ्य सेवा सुरु भएको थियो । यस्तै, २०७७ मङ्सिर ५ गतेदेखि अस्पतालले आफ्नै अपरेसन थिएटरबाट शल्यक्रिया सेवा दिन थालेको अस्पतालका संस्थापक अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभयो ।

अस्पतालले सेवा विस्तार गरेसँगै पश्चिम नेपालका जनतालाई क्यान्सरको उपचारका लागि भरतपुर क्यान्सर अस्पताल चितवन र सङ्घीय राजधानी काठमाडौँ पुग्नुपर्ने बाध्यताको अन्त्य भएको कक्षपतिले बताउनुभयो ।

हालसम्म अस्पतालमा स्थायी दरबन्दी कायम नभएको उल्लेख गर्दै उहाँले अस्थायी, करार र ज्यालादारी कर्मचारीबाट सेवा प्रवाह हुँदै आएको बताउनुभयो । अस्पतालमा जनशक्तिको लागि स्थायी दरबन्दी र पूर्वाधार विकासको लागि सरकारले ध्यान दिनसके सेवा अझै प्रभावकारी र सहज हुने उहाँको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *