जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यको निर्वाचनमा उहाँको क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले बेहोरेको पराजयपछि दबाब बढेको छ । मेक्लेनबर्ग–पश्चिमी पोमेरानियामा सीडीयू पाँच प्रतिशतको सीमा पार गर्न नसकी राज्य संसद्बाट बाहिरिएको छ भने बर्लिनमा वामपन्थी डाइ लिङ्केभन्दा पछि परेको छ ।
पद सम्हालेको १६ महिनामै चुनावी धक्का बेहोरेपछि मर्जले आइतबार टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै आफू चान्सलर र सीडीयू अध्यक्षका रूपमा जिम्मेवारीमा रहने बताउनुभयो । मेक्लेनबर्ग–पश्चिमी पोमेरानियाको परिणामलाई उहाँले ‘विपत्ति’ को संज्ञा दिँदै देशलाई सुधारका लागि दृढता र धैर्य आवश्यक रहेको बताउनुभयो ।
मेक्लेनबर्ग–पश्चिमी पोमेरानियामा आप्रवासनविरोधी अल्टरनेटिभ फर जर्मनी (एएफडी) करिब ३८ प्रतिशत मतसहित पहिलो र सत्तारूढ सामाजिक लोकतान्त्रिक पार्टी (एसपीडी) करिब ३५ प्रतिशत मतसहित दोस्रो भएको छ । सीडीयूले ४.९ प्रतिशत मत पाएको छ । बर्लिनमा डाइ लिङ्के पहिलो, सीडीयू दोस्रो र एएफडी तेस्रो भएका छन् ।
निर्वाचन परिणामपछि मर्जले जर्मनीका संस्थाप्रति जनविश्वास घटिरहेको र वाम तथा दक्षिण दुवै धारका कट्टरपन्थी दलले त्यसलाई कमजोर बनाइरहेको बताउनुभयो । राजनीतिक विश्लेषकहरूले उहाँको तत्काल टेलिभिजन सम्बोधनलाई पार्टीभित्र उठ्न सक्ने नेतृत्वसम्बन्धी बहस रोक्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । रुहर विश्वविद्यालय बोखुमका राजनीतिक वैज्ञानिक ओलिभर लेम्बकले मर्जले प्रारम्भमै राजनीतिक कथ्य आफ्नो नियन्त्रणमा राख्न खोजेको बताउनुभयो ।
सीडीयू नेतृत्वले निर्वाचनपछि सङ्कट बैठक गरेको छ । मर्जले आगामी केही कार्यक्रम स्थगित गर्नुभएको छ भने संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्क जाने कार्यक्रमसमेत रद्द गर्नुभएको छ । उहाँलाई पदबाट हटाउन सकिने चर्चा चलिरहेका बेला नर्थ राइन–वेस्टफालियाका मुख्यमन्त्री हेन्ड्रिक वुएस्ट र बाभेरियाका मुख्यमन्त्री मार्कस सोडरको नाम सम्भावित उत्तराधिकारीका रूपमा चर्चामा आएको छ । दुवैले भने खुला रूपमा दाबी गर्नुभएको छैन ।
गत वर्ष पदभार ग्रहण गर्दा मर्जले कमजोर अर्थतन्त्र सुधार, जर्मन सेनाको क्षमता विस्तार र अनियमित आप्रवासन नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर गठबन्धन साझेदार एसपीडीसँग आर्थिक तथा सामाजिक सुधार अघि बढाउन उहाँलाई कठिनाइ भइरहेको छ । यसअघि स्याक्सोनी–आनहाल्टमा पनि एएफडीले सीडीयूलाई पराजित गरेको थियो ।
यद्यपि, आठ राज्यका मुख्यमन्त्रीहरूले नेतृत्वसम्बन्धी बहसभन्दा जर्मनीलाई अहिले स्थिरता आवश्यक रहेको बताएका छन् । मेक्लेनबर्ग–पश्चिमी पोमेरानियामा एएफडी पहिलो भए पनि अन्य प्रमुख दलले उससँग गठबन्धन नगर्ने अडान लिएका कारण एसपीडीले वामपन्थी दलसँग सहकार्य गरी सरकारलाई निरन्तरता दिन सक्ने अवस्था देखिएको छ ।




