काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सप्तरीको राजविराजमा आर्थिक अभावका कारण एक महिलाले अस्पतालको गेटबाहिर सडकमा बच्चा जन्माउनुपरेको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले नेपालको संविधानले स्वास्थ्यसम्बन्धी आधारभूत अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरे पनि आर्थिक अभावका कारण अस्पतालबाहिरै सुत्केरी हुनुपर्ने अवस्था आउनु दुःखद् र राज्यका लागि गम्भीर प्रश्न भएको बताए ।
सांसद खगेन्द्र कर्णले राजविराजमा आर्थिक अभावका कारण महिलाले अस्पताल परिसरमै बच्चा जन्माउनुपरेको घटनाको वास्तविकताबारे स्वास्थ्य तथा जनसंख्यामन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने माग गरे ।
सांसद अङ्किता ठाकुरले पनि उक्त घटनाले राज्य प्रणालीको कुरूप अवस्था उजागर गरेको बताइन् । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था संविधानप्रदत्त मौलिक हककै उल्लङ्घन भएको उनको भनाइ थियो ।
बैठकमा सांसद धनबहादुर बुढाले भोटेकोशी बाढीको प्रभाव डोल्पासम्म परेको र सुरुङमा काम गर्न गएका जिल्लाका स्थानीय नागरिक सम्पर्कविहीन रहेको भन्दै उनीहरूको खोजीलाई तीव्रता दिन माग गरे । उनले बेपत्ता नागरिकको अवस्थाबारे परिवारलाई यथार्थ जानकारी गराउन पनि सरकारको ध्यानाकर्षण गराए ।
सांसद कालीबहादुर सहकारीले कालीकोटमा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे । कर्णाली राजमार्ग स्तरोन्नति हुन नसक्दा स्थानीयले आवागमनमा कठिनाइ भोगिरहेको भन्दै उनले राजमार्गको स्तरोन्नतिमा ध्यान दिन माग गरे ।
सांसद गङ्गालक्ष्मी अवालेले भोटेकोशी बाढीको उद्धारमा खटिएका जनशक्तिलाई आवश्यक सामग्रीको अभाव देखिएको भन्दै उद्धार कार्य प्रभावकारी बनाउन तत्काल आवश्यक सामग्री उपलब्ध गराउन सरकारसँग आग्रह गरिन् ।
सांसद प्रेमबहादुर बयकले ग्यास अभावका कारण नागरिकले आत्महत्याको प्रयास गर्नुपरेको अवस्थासमेत देखिएको भन्दै समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद माधवबहादुर थापाले पाल्पाबाट स्थानीय कामका लागि अर्घाखाँची पुगेका व्यक्तिलाई प्रतीक्षालयमा बसेका बेला कुटपिट गरिएको घटना सार्वजनिक गर्दै त्यसबारे निष्पक्ष छानबिन गर्न माग गरे ।
सांसद रामविनोद यादवले भोटेकोशी बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्दै बाढीमा परी बेपत्ता धनुषाका इन्जिनियर अजयप्रसाद सिंहको अवस्थाबारे यथार्थ जानकारी प्राप्त गर्न पहल गर्न आग्रह गरे ।
सांसद योगेश गौचन थकालीले भदौ २३ गते राति मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पपछि आठ पटकसम्म परकम्प महसुस भएको जानकारी गराउँदै भौतिक संरचना र ३०० भन्दा बढी घरमा सामान्य क्षति पुगेको बताए । उनले प्रभावित नागरिकका लागि तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।
सांसद कविन्द्र बुर्लाकोटीले भोटेकोशी बाढीमा परी गोरखाका नागरिक बेपत्ता भएपछि उनीहरूका परिवार अझै आफन्तको खोजीमा प्रतीक्षारत रहेको बताए । उनले खोज, उद्धार तथा राहतका कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सांसद बोधनारायण श्रेष्ठले ग्यास अभावको समस्या कायमै रहेको र वितरण प्रणालीमा समेत समस्या देखिएको बताए । सरोकारवालालाई सहभागी गराएर प्रत्यक्ष प्रसारणमार्फत समस्या पहिचान गर्न सकिने उनको भनाइ थियो । उपभोक्ताले समेत आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्दा समस्या बढेको भन्दै उनले उपभोक्तालाई पनि जिम्मेवार बन्न आग्रह गरे।




