नुवाकोट । भदौ १७ गते आएको अविरल वर्षासँगैको बाढीले नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने ढाडेगाउँ–ढाडेफेदी क्षेत्रको सिँदुरे खोलामा ठूलो क्षति पुर्यािएको छ। बाढीले ठूलो परिमाणमा खेतीयोग्य जमिन कटान गर्नुका साथै झोलुङ्गे पुलसमेत बगाएको छ।स्थानीयका अनुसार केही समयअघि सोही क्षेत्रमा गरिएको अनियन्त्रित ढुङ्गा–गिटी उत्खननका कारण खोलाको प्राकृतिक धार र बहावमा परिवर्तन आएको थियो। समयमै उत्खनन नियन्त्रण र नदी संरक्षणका लागि सम्बन्धित निकायले प्रभावकारी कदम नचाल्दा अहिले त्यसको गम्भीर असर स्थानीयले भोग्नुपरेको उनीहरूको भनाइ छ।

स्थानीयवासीका अनुसार सुपारीखोल्ची मोटरेबल पुल निर्माणका क्रममा जय विष्णु निर्माण सेवा कम्पनीसँग सम्बन्धित कामदार तथा प्रतिनिधिहरूले स्थानीयको खेतबारी बनाइदिने लगायतका आश्वासन देखाएर खोला तथा निजी जग्गाबाट ठूलो परिमाणमा ढुङ्गा–गिटी उत्खनन गरेका थिए।उत्खननका क्रममा खोलाको प्राकृतिक स्वरूप बिगारिएको र नदीको धार परिवर्तन हुने अवस्था सिर्जना भएको भन्दै स्थानीयले त्यसबेलै सम्बन्धित वडा, पालिका तथा निर्माण व्यवसायीको ध्यानाकर्षण गराएका थिए। तर उत्खनन रोक्न तथा क्षतिग्रस्त क्षेत्रको संरक्षण गर्न प्रभावकारी पहल नभएको स्थानीयको गुनासो छ।
यसअघि संकल्प खबरले ‘कर छली र नदी विनाश : प्रश्नै–प्रश्नकाबीच सुपारीखोल्ची पुल उद्घाटनको हतारो !’ शीर्षकमा समाचार प्रकाशित गर्दै निर्माणका क्रममा भएको भनिएको उत्खनन, नदी दोहन र त्यसबाट भविष्यमा खेतीयोग्य जमिन तथा बस्ती जोखिममा पर्न सक्ने विषय उठाएको थियो। सो समाचारमा स्थानीयले खोलाको धार परिवर्तन भई ठूलो बाढी आएमा खेतबारी बग्न सक्ने जोखिमबारे चिन्ता व्यक्त गरेका थिए।

तर समयमै नदी दोहन नियन्त्रण र जोखिम न्यूनीकरणका लागि आवश्यक कदम नचालिएको स्थानीयको आरोप छ। अहिले त्यही क्षेत्रमा आएको बाढीले ठूलो मात्रामा खेतीयोग्य जमिन कटान गर्नुका साथै झोलुङ्गे पुलसमेत बगाएपछि स्थानीयले विगतमा उठाएको प्रश्न फेरि सतहमा आएको छ।
करोडौँको पुल बने पनि नदी संरक्षण भएन
बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउँपालिका–३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुल ४१.४ मिटर लामो र ८.४ मिटर चौडा रहेको छ। जय विष्णु निर्माण सेवा कम्पनीले करिब ८ करोड ४६ लाख रुपैयाँ लागतमा निर्माण गरेको उक्त पुल तोकिएको समयभन्दा अगावै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयको भनाइ थियो।

तर पुल निर्माणसँगै जोडिएको नदीजन्य पदार्थको उत्खनन र स्रोत व्यवस्थापनको विषय भने विवादित बनेको थियो। स्थानीयले पुल निर्माणका लागि आवश्यक सामग्रीको स्रोत, उत्खननको प्रक्रिया र त्यसबाट राज्यलाई प्राप्त हुनुपर्ने राजस्वबारे समेत प्रश्न उठाएका थिए।स्थानीयको भनाइमा नदीबाट जथाभावी ढुङ्गा–गिटी निकाल्दा खोलाको गहिराइ र धारमा अस्वाभाविक परिवर्तन आएको थियो। नदीको प्राकृतिक बहाव परिवर्तन हुँदा वर्षायाममा पानीको वेग सिधै खेतीयोग्य जमिनतर्फ जाने अवस्था बनेको उनीहरूको दाबी छ।
बेलकोटगढी र लिखुका खेतीयोग्य जमिन जोखिममा
बाढीपछि बेलकोटगढी नगरपालिका–१३ र १२ का बेँसी क्षेत्र तथा लिखु गाउँपालिका–३ को दक्षिणी क्षेत्रमा ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।सिँदुरे खोलाको बहाव बढेसँगै आसपासका खेतीयोग्य जमिन कटानमा परेका छन्। कतिपय स्थानमा खेतको ठूलो भूभाग खोलाले बगाएको छ भने कतिपय क्षेत्रमा थप कटानको जोखिम कायम रहेको स्थानीयको भनाइ छ।बाढीका कारण स्थानीय सडक तथा बाटोसमेत अवरुद्ध हुँदा बेलकोटगढी–१३ र १२ का बेँसी क्षेत्र तथा लिखु–३ का बासिन्दाको आवतजावत प्रभावित भएको छ।
‘त्यतिबेला कुरा सुनिदिएको भए आज यो अवस्था आउँदैनथ्यो’
स्थानीयवासीले उत्खननका विषयमा पटक–पटक वडा, सम्बन्धित पालिका तथा निर्माण व्यवसायीलाई जानकारी गराएको दाबी गरेका छन्।“खोला खन्ने काम भइरहँदा नै हामीले यसले पछि समस्या ल्याउँछ भनेका थियौँ। नदीको धार परिवर्तन हुन्छ, खेतबारीमा असर पर्छ भनेर पटक–पटक कुरा उठायौँ। तर गम्भीर रूपमा लिइएन,” एक स्थानीयवासीले भने।स्थानीयका अनुसार निर्माण व्यवसायीले तत्कालका लागि खेतबारी सम्याइदिने तथा अन्य सहयोग गर्ने आश्वासन दिए पनि नदीको दीर्घकालीन असरलाई सम्बोधन गर्ने गरी काम भएन।अहिले बाढीले खेतीयोग्य जमिन र झोलुङ्गे पुल बगाएपछि स्थानीयले विगतमा उठाएको प्रश्नलाई सम्बन्धित निकायले गम्भीर रूपमा लिनुपर्ने माग गरेका छन्।
अब उत्खननको छानबिन र नदी संरक्षण आवश्यक
स्थानीयले सिँदुरे खोलालगायत क्षेत्रमा विगतमा भएको ढुङ्गा–गिटी उत्खननको विषयमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्।कुन स्थानबाट कति परिमाणमा नदीजन्य पदार्थ निकालियो, त्यसका लागि अनुमति थियो वा थिएन, उत्खननबाट राज्यलाई कति राजस्व प्राप्त भयो तथा उत्खननले नदीको प्राकृतिक धारमा कस्तो प्रभाव पारेको छ भन्ने विषयमा प्राविधिक अध्ययन गर्नुपर्ने स्थानीयको माग छ।अब पनि समयमै नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन रोक्न नसके बेलकोटगढी र लिखुका अन्य खेतीयोग्य जमिनसमेत थप जोखिममा पर्न सक्ने स्थानीयको चेतावनी छ।
बाढीबाट भएको क्षतिको तत्कालीन राहत तथा पुनर्निर्माणसँगै विगतमा भएको नदी दोहनको कारण, उत्खननको कानुनी प्रक्रिया र त्यसबाट सिर्जित वातावरणीय तथा भौतिक जोखिमबारे समेत सम्बन्धित निकायले छानबिन गर्नुपर्ने देखिन्छ।

कर छली र नदी विनाश : प्रश्नै–प्रश्नकाबीच सुपारीखोल्ची पुल उद्घाटनको हतारो !




