देश

कर छली र नदी विनाश : प्रश्नै–प्रश्नकाबीच सुपारीखोल्ची पुल उद्घाटनको हतारो !

८ करोड ४६ लाखको पुल समयमै सम्पन्न भए पनि विवादको छायामा

नुवाकोट । बागमती प्रदेश सरकारको लगानीमा निर्माण गरिएको बेलकोटगढी–१३ र लिखु गाउँपालिका–३ जोड्ने सुपारीखोल्ची मोटरेबल पुल निर्माण सम्पन्न भएसँगै शनिवार उद्घाटनको तयारी तीव्र बनेको छ ।

गत वर्ष पुस ५ गते तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ र भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले शिलान्यास गरेको पुल तोकिएको समयमै सकिए पनि कर छली, अवैध उत्खनन र नदी दोहनका आरोपका कारण पुल निर्माण विवादमा तानिएको छ ।

८ करोड ४६ लाखको पुल समयमै सम्पन्न भए पनि विवादको छायाँमा 

४१.४ मिटर लामो र ८.४ मिटर चौडा पुल जय विष्णु निर्माण सेवा कम्पनीले करिब ८ करोड ४६ लाख रुपैयाँमा निर्माण गरेको हो । २०८१ असार १४ मा कार्यादेश दिइएको यो पुल ठेकेदारले तोकिएको समयभन्दा दुई महिना अघि, २०८२ साउन २२ मै पूरा गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

समयपालनका कारण ‘काम गरेको देखाउन’ सफल भए पनि स्थानीयका अनुसार निर्माण प्रक्रियामा राजस्व छली र अवैध स्रोतको सामग्री प्रयोग जस्ता गम्भीर अनियमितता लुकेको छ ।

‘लोभ देखाएर अवैध उत्खनन’ — स्थानीयको आरोप

स्थानीयवासीका अनुसार ठेकेदार कम्पनीले खेतबारी बनाइदिने आदि प्रलोभन देखाएर रातारात स्थानीय खोला र निजी जग्गाबाट ठुलो मात्रामा ढुङ्गा–गिटी उत्खनन गरेको  थियाे  । उनीहरूका  अनुसार  पुल निर्माणका अधिकांश कच्चा सामग्री अनधिकृत रूपमा निकालिएको र त्यसको महसुल तथा कर राज्यलाई बुझाइएको छैन।

स्थानीयहरू भन्छन् — “अन्तिममा ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ जस्तै गरियो। अवैध उत्खननबाट निकालेको सामग्री प्रयोग गरेर ठेकेदार मालामाल भयो, तर हामीलाई झुक्याइयो।”स्थानीय क्लबहरूलाई ‘हल्का  रकम’ दिएर रातारात उत्खनन मिलाइएको आरोप पनि व्यापक रूपमा उठेको छ।

अख्तियारमा उजुरी, तर ‘गोप्य उद्घाटन’ को तयारी!

कर छली र नदी दोहनसम्बन्धी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको स्थानीयले बताएका छन् । तर यता उजुरीमाथि अनुसन्धान भइरहेका बेला नै ठेकेदार अनिल शिलवालले पुलको उद्घाटन गोप्य रूपमा गर्ने तयारी गरेको सूचना बाहिरिएपछि स्थानीय झनै आक्रोशित बनेका छन् ।

नदी दोहनले बाढीको जोखिम बढ्यो, उद्घाटन रोक्न दबाब

स्थानीयवासीले निष्पक्ष छानबिन नहुँदासम्म उद्घाटन रोक्न सम्बन्धित निकायलाई दबाब दिइरहेका छन् । उनीहरूका अनुसार नदी दोहनका कारण खोलाले धार बदल्ने खतरा बढेको छ, जसले ठुलो बाढी आएमा खेतबारीसमेत बगाउने जोखिम  निम्त्याउने खतरा बढको हो ।

कागजात नदिएर पूर्वाधार कार्यालय पनि मौन बस्नु रहस्यमयी

स्थानीयहरूले पूर्वाधार विकास कार्यालय, नुवाकोटमा अनियमितता सम्बन्धी गुनासो गर्दा पनि “ठेकेदारसँग मिलेमतोका कारण आवश्यक कागजात नदिएको” आरोप लगाएका छन् ।अहिले स्थानीयको प्रश्न स्पष्ट छ — “यदि सामग्री वैध खानीबाट खरिद भएको भए राज्यको करोडौँ राजस्व गुम्ने थिएन । फर्जी कागजात बनाएर भुक्तानी लिइयो, राज्यलाई आर्थिक नोक्सानी पुर्‍याइयो। अब हामी कसरी चुप बस्ने र !”

पालिकाहरू ‘उद्घाटन’ मा व्यस्त, ‘अनियमितता’ छानिबन गर्न स्थानीयको माग

स्थानीयका अनुसार बेलकोटगढी र लिखु दुवै गाउँपालिका छानबिनभन्दा पुल खोल्ने हतारमा लागिपरेका छन्, जसले उनीहरूमा झनै अविश्वास बढाएको छ। अख्तियारमा उजुरी परेमा ठेगेदार पुल उद्घाटन कार्यक्रम भाँडिए र अख्तियारले आफुलाई कार्वाही गरे स्थानीयहरु कसैलाई नछोड्ने भन्दै ठेगेदारले स्थानीहरुलाई धम्काइरहेको उनीहरुको गुनासो छ ।

मेरो मान्छेपनि अख्तियारमा छन् बरुकरोड खर्च गर्छु उजुरी गर्नेलाई बाँकि राख्दैन भन्दै धम्काउदै ठेगेदारले धम्काइरहेको स्थानीयहरुले बताउछन् । अनियमितता लुकाउन भित्रभित्रै पूर्वाधार कार्यालयलाई यस अघि नै निर्माण सम्पन्न भएको देखाएर भुक्तानी दिने र पुल बुझाउने काम गरिसके अहिले फेरी कस्को स्वार्थमा हो पुल उद्घाटनको नाटक गरिदैछ । करोडौको अनियमितता लुकाउन समयमै काम सकिएको भन्दै प्रचारवाजी गरिएको स्थानीयहरुको गुनासो छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *