देश

प्रचण्डले भने – विपद् व्यवस्थापनमा जनपरिचालन कमजोर, सगरमाथा संवाद आवश्यक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सरकार अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्। उनले विपद्को सामना गर्न सेना परिचालन भए पनि व्यापक जनपरिचालन हुन नसक्दा उद्धार तथा राहत कार्य प्रभावित भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले महाविपत्तिको सामना गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनले विपद् सुरु भएलगत्तै गृहमन्त्रीले देखाएको सक्रियताप्रति आफू आशावादी रहेको उल्लेख गर्दै संकटका बेला सरकारलाई सहयोग गर्ने विषयमा राजनीतिक दलहरूबीच कुनै मतभेद नरहेको बताए।

‘संकटको घडीमा साथ दिएर जानुपर्छ भन्ने कुरामा कुनै राजनीतिक दलको विमति थिएन, हाम्रो पनि थिएन र अहिले पनि छैन,’ उनले भने। प्रधानमन्त्री र मन्त्रीहरूको सक्रियता मात्र विपद्को गम्भीर अवस्थालाई सम्बोधन गर्न पर्याप्त नभएको उनको भनाइ थियो। उद्धार तथा राहत कार्यमा नेपाली सेनाले जोखिम मोलेर महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले सेना परिचालन भए पनि आवश्यक स्तरमा जनशक्ति परिचालन हुन नसकेको बताए।

‘सेनाले धेरै जोखिम उठाएर उद्धार र राहतमा खेलेको भूमिका देखियो,’ उनले भने, ‘तर यो महाविपत्तिको सामना गर्न सबै तहका सरकारबीच आवश्यक समन्वय हुन सकेन। सेना परिचालन भयो, जनपरिचालन भएन।’ विपद्को प्रभावकारी व्यवस्थापनका लागि सरकारी संयन्त्रसँगै स्थानीय समुदाय र आम नागरिकको समेत व्यापक परिचालन आवश्यक रहेको उनले बताए। जनपरिचालनबिना विपद्बाट उत्पन्न समस्याको दीर्घकालीन र वास्तविक समाधान कठिन हुने उनको भनाइ थियो।

प्रचण्डले प्रभावित क्षेत्रबाट सरकार उद्धार कार्यमा अपेक्षाकृत सफल हुन नसकेको जनगुनासो आइरहेको पनि बताए। तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै उपलब्ध सबै स्रोतसाधन र जनशक्तिको परिचालनमा सरकार गम्भीर हुनुपर्ने उनले जोड दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *