काठमाडौं । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीपछि बाढी प्रभावित क्षेत्रमा रहेका ३९ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको पाइएको छ।
बाढीपछि रसुवा, नुवाकोट र धादिङमा उद्धार अभियान जारी रहे पनि ठूलो संख्यामा विदेशी नागरिकको अवस्था अझै अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म ३२४ जना विदेशी नागरिकको उद्धार भइसकेको छ।
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म १ हजार १० वटा शव निकालिएको र करिब ४ हजार मानिस अझै बेपत्ता छन्। समग्रमा ३२४ विदेशी नागरिकसहित ११ हजार ८०० भन्दा बढी मानिसको उद्धार गरिएको मन्त्रालयले जनाएको छ।
विदेशी नागरिकको खोजी तथा उनीहरूका परिवारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयले आपत्कालीन नियन्त्रण कक्ष सञ्चालन गरिरहेको छ। सम्बन्धित सरकारी निकाय, विदेशस्थित नेपाली कूटनीतिक नियोग र बेपत्ता नागरिकका परिवारबीच सूचनाको आदानप्रदान भइरहेको प्रवक्ता क्षेत्रीले बताए।
उनका अनुसार आवश्यक परेमा विदेशस्थित नेपाली नियोगहरूले विदेशी नागरिकको पहिचान तथा स्वदेश फिर्ताको प्रक्रियामा समेत सहजीकरण गर्नेछन्। सम्बन्धित देशसँग नियमित सम्पर्कमा रहेर आवश्यक कन्सुलर सहायता उपलब्ध गराइने मन्त्रालयको भनाइ छ।
उपलब्ध विवरणअनुसार सम्पर्कविहीन विदेशी नागरिकमध्ये भारतीयको संख्या सबैभन्दा बढी छ। भारतका १८३ जना नागरिकको अवस्था अज्ञात रहेको छ।
त्यसपछि अमेरिकाका ६४, मलेसियाका ५५, युक्रेनका ५४, अस्ट्रेलियाका ३५, बेलायतका ३३, लाट्भियाका ३३, क्यानडाका ३० र चीनका २५ जना नागरिक सम्पर्कविहीन छन्।
त्यस्तै, सिंगापुरका ९, जर्मनी र रुसका ८–८, दक्षिण अफ्रिकाका ६, न्युजिल्यान्ड र जापानका ५–५, फ्रान्सका ४ तथा कजाकिस्तानका ३ जना नागरिक सम्पर्कविहीन भएको विवरण छ।
नेदरल्यान्ड्स, आयरल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम र इटालीका दुई–दुई जना नागरिकको पनि सम्पर्क हुन सकेको छैन। इस्टोनिया, भियतनाम, स्विट्जरल्यान्ड, सर्विया, स्विडेन, फिलिपिन्स, इजरायल, लिथुआनिया, हंगेरी, फिनल्यान्ड र बेलारुसका एक–एक जना नागरिक सम्पर्कविहीन छन्।




