देश

रसुवा बाढीमा प्रभावित ३८ देशका विदेशी नागरिकको विवरण संकलन हुँदै

काठमाडौँ । सरकारले रसुवामा आएको बाढीबाट प्रभावित ३८ देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ।

सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले सम्बन्धित देशका दूतावाससँग समन्वय गरी विदेशी नागरिकको अवस्थाबारे तथ्यांक अद्यावधिक गर्ने काम भइरहेको जानकारी दिए।

उनका अनुसार विपद्पछिको खोज, उद्धार तथा राहतका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक प्राविधिक सहयोग माग गरेको छ।

“सुरुङमा हुनसक्ने उद्धारका लागि दक्ष टनेल रेस्क्यु टोली, पुरिएका शव फेला पार्न आईएसएआरजस्ता आधुनिक प्रविधि र शव सुरक्षित राख्न थप फ्रिजर आवश्यक छ,” प्रवक्ता पौडेल क्षेत्रीले भने।

केही फ्रिजर प्राप्त भइसकेको र थप फ्रिजर आउने क्रममा रहेको उनले जानकारी दिए। त्यस्तै, मृतकको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षण उपकरण तथा आवश्यक किट्ससहितको प्राविधिक सहयोगसमेत माग गरिएको उनले बताए।

राहत वितरणका लागि आवश्यक केही सामग्रीको मागसमेत गरिएको जनाउँदै प्रवक्ता पौडेल क्षेत्रीले दीर्घकालीन पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि भने ‘विपद्पछिको आवश्यकता मूल्यांकन’ सम्पन्न भएपछि मात्रै आवश्यक सहयोगको खाका तय गरिने स्पष्ट पारे।

सरकारले बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार, राहत र पुनर्स्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *