देश

भोटेकोशी बाढीमा नुवाकोट–रसुवाबाट एक हजार ३२१ जना सम्पर्कविहीन

नुवाकोट। भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट र रसुवा क्षेत्रबाट हालसम्म एक हजार ३२१ जना सम्पर्कविहीन भएका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आइतबार सार्वजनिक गरेको विवरणअनुसार बाढी प्रभावित नुवाकोट र रसुवा क्षेत्रबाट हालसम्म दुई हजार ४५६ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये दुई हजार २२५ जना नेपाली र २३१ जना विदेशी नागरिक छन्। उद्धार गरिएकामध्ये ५८ जना घाइते रहेको र उनीहरूलाई स्वास्थ्य अवस्थाअनुसार विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रजिअ रेग्मीले बताए।

सम्पर्कविहीन हुनेमा एक हजार १०९ जना नेपाली र १५७ जना विदेशी नागरिक छन्। त्यस्तै, ५५ जना व्यक्तिको पहिचान खुल्न नसकेको उनले जानकारी दिए।

खोज तथा उद्धारका लागि माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा सुरक्षाकर्मी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी गरी ८४ जना परिचालन गरिएको छ। त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा समेत रेकी गरी खोज तथा उद्धार कार्य भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ।

माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेको भनिएका व्यक्तिको उद्धारका लागि सुरुङको वास्तविक स्थान पहिचान गर्ने प्रयास भइरहेको प्रजिअ रेग्मीले बताए। आवश्यक उपकरण तथा प्रविधिको प्रयोग गरी उद्धार कार्य अघि बढाइएको उनको भनाइ छ।

उद्धार कार्यसँगै शव व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको छ। शवको खोज तथा उद्धारका लागि ६०० सुरक्षाकर्मीको संयुक्त टोली, हेलिकप्टर तथा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ। खोजीलाई प्रभावकारी बनाउन त्रिशूली नदीको वारिपारि गरी ३० स्थानलाई मुख्य आधार क्षेत्र तोकिएको छ।

बाढीका कारण अवरुद्ध सडक सञ्चालनमा ल्याउनसमेत तीव्र रूपमा काम भइरहेको प्रजिअ रेग्मीले जानकारी दिए। गल्छी–देवीघाट सडक सञ्चालनका लागि ठूलो खोलास्थित क्षतिग्रस्त पक्की पुल मर्मत भइरहेको छ भने देवीघाटमा बेलीब्रिज जडानको काम अघि बढाइएको छ।

ढुङ्गे बजार क्षेत्रमा अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको छ। ढुङ्गे र त्रिशूली बजार जोड्न तत्कालका लागि तुइन जडानको कामसमेत सुरु गरिएको छ।

‘तुइन जडानका लागि लठ्ठा आइसकेको छ,’ प्रजिअ रेग्मीले भने, ‘तत्काल तुइनबाटै भए पनि वारपार गर्न सकिने वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको छ।’

बाढी प्रभावितका लागि राहत सामग्री वितरणमा एकद्वार प्रणाली अपनाइएको छ। हालसम्म १४० वटा संघसंस्थाले राहत सामग्री उपलब्ध गराएको प्रजिअ रेग्मीले जानकारी दिए।

उनका अनुसार प्राप्त राहत सामग्री गोदाममा संकलन गरी आवश्यकताका आधारमा होल्डिङ सेन्टरमा गाडी तथा हेलिकप्टरमार्फत पठाउने गरिएको छ।

बाढीग्रस्त क्षेत्रबाट उद्धार गरिएका नागरिकको गाँसबासको व्यवस्थाका लागि सञ्चालन गरिएका होल्डिङ सेन्टरको संख्या पनि बढाइएको छ। शनिबारसम्म १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा रहेकामा हाल यो संख्या १७ पुर्‍याइएको छ।

प्रजिअ रेग्मीका अनुसार हाल ती होल्डिङ सेन्टरमा दुई हजार ४०३ जना बसिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *