देश

प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि विदुर प्रस्थान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि आज बिहान नुवाकोटको विदुरतर्फ प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पनि निरीक्षण टोलीमा सहभागी छन्। उनीहरू बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित प्रमुख क्षेत्रमध्ये एक विदुरतर्फ प्रस्थान गरेका हुन्।

रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आएका छन्।

बाढी आएलगत्तै प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहत कार्यका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका थिए। त्यसयता उनले राहत तथा उद्धार अभियानको निरन्तर सहजीकरण गर्दै आएका छन्।

समयको सीमितताका कारण प्रधानमन्त्री शाहले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका बाढी प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालसहितको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष जानकारी लिनेछन्। टोलीले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत वितरण, पुनःस्थापना र अवरुद्ध पूर्वाधार पुनःसञ्चालनका विषयमा समेत छलफल गर्नेछ।

प्रभावित क्षेत्रमा राहत सामग्रीको आपूर्ति द्रुत बनाउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र पुनःस्थापनाको कामलाई तीव्रता दिन आवश्यक निर्देशन दिने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *