देश

रसुवाको बाढीमा ४१ सुरक्षाकर्मी बेपत्ता, प्रहरी चौकी र कार्यालयमा क्षति

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ४१ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। बाढीले जिल्लाका विभिन्न प्रहरी कार्यालय तथा चौकीमा समेत क्षति पुर्‍याएको छ।

नेपाल प्रहरीका ३२ जना र सशस्त्र प्रहरीका ९ जना सुरक्षाकर्मी हालसम्म सम्पर्कमा नआएको सम्बन्धित सुरक्षा निकायले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबि नारायण काफ्लेका अनुसार केही सुरक्षाकर्मी सम्पर्कमा आइसकेका छन् भने केहीसँग सम्पर्क स्थापित हुने क्रममा रहेको छ। यद्यपि, हालसम्म ३२ जना प्रहरी सम्पर्कविहीन रहेको उनले जानकारी दिए।

बाढीका कारण रसुवाका इलाका प्रहरी कार्यालय टिमुरे, स्याफ्रुवेशी प्रहरी चौकी, रसुवागढी र मैलुङस्थित प्रहरी कार्यालयमा क्षति पुगेको छ।

यस्तै, सशस्त्र प्रहरी बलतर्फ बीओपी टिमुरेमा कार्यरत ९ जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन रहेको जनाइएको छ। उनीहरूको अवस्थाबारे सुरक्षा निकायले खोजी तथा उद्धारको प्रयास जारी राखेको छ।

बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै सुरक्षा पूर्वाधारमा समेत क्षति पुगेपछि उद्धार तथा राहत कार्यलाई थप चुनौतीपूर्ण बनेको बताइएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *