कला/साहित्य

जनकवि दुर्गालाल श्रेष्ठको अन्त्येष्टि, साहित्यिक क्षेत्रले गुमायो विशिष्ट स्रष्टा

काठमाडौं । नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलबार अन्त्येष्टि गरिएको छ ।

९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवतीस्थित घाटमा अन्तिम संस्कार गरिएको हो ।

विगत ६ दशकदेखि साहित्य सिर्जनामा सक्रिय श्रेष्ठले नेपाल भाषा र नेपाली दुवै भाषामा कविता, गीत तथा साहित्यका विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । विशेषगरी नेपाल भाषा साहित्यको विकास र प्रवर्द्धनमा उनको योगदानलाई उल्लेखनीय मानिन्छ । उनका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

साहित्य क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि श्रेष्ठलाई ‘जनकवि’को उपाधि प्रदान गरेको थियो । उनलाई विसं २०६७ मा प्रतिष्ठित ‘जगदम्बाश्री पुरस्कार’बाट समेत सम्मान गरिएको थियो ।

श्रेष्ठको अन्तिम बिदाइका क्रममा निकालिएको शवयात्रामा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

उनलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, गृहमन्त्री सुदन गुरुङ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोललगायत उच्च पदस्थ व्यक्तिहरू शोभा भगवती पुगेका थिए ।

श्रेष्ठको निधनसँगै नेपाल भाषा साहित्यले लामो समयदेखि सक्रिय एक विशिष्ट स्रष्टा गुमाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *