देश

बाढी प्रभावितलाई तत्काल अस्थायी पुनर्स्थापना गर्न केसीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा तथा तत्काल अस्थायी पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले होल्डिङ सेन्टरमा रहेका महिला, वृद्धवृद्धा तथा बालबालिका असुरक्षित र स्वास्थ्य जोखिममा रहेको भन्दै उनीहरूको संरक्षण तथा व्यवस्थापनमा सरकार गम्भीर बन्नुपर्ने बताए।

रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा आवतजावत पूर्णरूपमा विच्छेद भएको उल्लेख गर्दै उनले तत्काल वैकल्पिक यातायात व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए।

बेत्रावतीदेखि गल्छीसम्म सञ्चालनमा रहेका दुईवटा तुइनले मात्रै आवतजावतको समस्या समाधान गर्न नसक्ने भन्दै उनले कम्तीमा पाँचवटा बेलीब्रिज यथाशीघ्र निर्माण गर्न माग गरे।

‘बाढीग्रस्त रसुवा तथा नुवाकोटका होल्डिङ सेन्टरमा रहेका पीडित, विशेषगरी महिला, वृद्धवृद्धा र बालबालिका अत्यन्त कठिन परिस्थितिमा छन्। उनीहरूलाई थप संरक्षण, सुरक्षा र व्यवस्थापनको आवश्यकता छ,’ उनले भने, ‘पीडितलाई यथाशीघ्र सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सरकारसँग जोडदार माग गर्दछु।’

उनले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कार्यलाई थप प्रभावकारी बनाउनसमेत सरकारसँग आग्रह गरे।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *